नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालको भूमिका कति ?

जेष्ठ ५, २०८० |रमेश धमला
नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालको भूमिका कति ?

काठमाडौं । नक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजालकै आग्रहमा भुटानी शरणार्थी समस्या समाधान कार्यदल गठन भएको प्रहरीले दाबी गरेको छ । बिहीबार पक्राउ परेका रिजाललाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति पाएको छ ।

गृह मन्त्रालयमा २०७६ साल जेठमा नेता रिजालको निवेदनपछि भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठनको निर्णय भएको प्रहरी स्रोतले बतायो । नेपाल र युएनएचसीआरको संयुक्त टोलीले छुटेको भन्दै प्रमाणीकरण गरेको ४ सय २९ जनामा नक्कली शरणार्थी रहेको भेटिएपछि रिजालको निवेदन पनि शंकाको घेरामा परेको हो ।

नेपालमा छुटेकाहरुलाई पारिवारिक मिलन गराउन भन्दै रिजालले गृहमा निवेदन दिएको स्रोतको दाबी छ । सन् २०१६ मै संयुक्त राष्ट्र संघले तेस्रो देश पुनर्वासको कार्यक्रम रोकिसकेको अवस्थामा रिजालले १२ बुँदे माग राख्दै निवेदन दिनु र अहिले नक्कली शरणार्थी बनाएको तथ्य खुल्नुले उनको संलग्नता माथि अनुसन्धान भएको हो ।

रिजालले कति रकम लिएका छन् भन्ने प्रहरीले खोजि गरिरहेको छ । उनले नक्कली भुटानीहरुको ठेगाना भुटान हो भनी प्रमाणीकरण गरिदिन भूमिका खेलेको देखिएको छ । त्यस्तै तत्कालिन गृह सचिव टेकनारायण पाण्डेको खातामा छयासी लाख रुपैयाँको कारोवार देखिएको छ ।

पटक–पटक बैंकमा जम्मा गराएको रकमको स्रोत खोल्न नसकेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् । त्यस्तै अहिलेसम्म पक्राउ परेका अन्यको पनि राष्ट्रबैंक मार्फत् खाता विवरण माग भएको छ । नक्कली भुटानी शरणार्थी मुद्धामा रिजालसहित अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।

यसैवीच, बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियाँ र रिजालको मात्र सरकारी वकिलको कार्यालयमा बयान बाँकी छ । संगठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्धा लैजानुपर्ने भएकाले प्रहरीले आइतबार जिल्ला सरकारी वकिल कार्यालयलाई आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन दिने तयारी गरेको छ ।

रिजाललाई नेपाल सरकारले मासिक एक लाख रुपैयाँ, गाडी र एक जना सुरक्षाकर्मीसमेत दिएर राखेको थियो । कुनै समय भुटानी राजाको सल्लाहकारसमेत रहेका रिजाल भुटानमा विद्रोह गरेपछि निर्वासित बनेका थिए । झापाको बिर्तामोडमा बसेका रिजाललाई नेपालले भुटान सुपुर्दर्गी गरेपछि उनी जेल परेका थिए । पछि सन् १९९० मा नेपाल आएका रिजालले त्यति बेलादेखि नै शरणार्थीलाई स्वेदश फर्काउने र तेस्रो देश पुनर्स्थापना गराउने अभियान चलाएका थिए ।

थप...

फरार भनिएकी मञ्‍जु खाण ‘संसद्‌मा हाजिर’
नक्कली शरणार्थी प्रकरणमा नयाँ रहस्य खुल्दै, शरणार्थीका नेता टेकनाथ रिजाल नै पक्राउ
टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा, चढ्ने गाडी मात्रै भेटियो
टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
नक्कली शरणार्थी प्रकरण ‘राज्यविरुद्धको अपराध’ भएको एमालेको ठहर
नक्कली भुटानी काण्डमा पूर्वगृहमन्त्रीसहित को-को मुछिए ?


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement