झापा । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहको छानबिनका क्रममा भुटानी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । उनी पक्राउ परेपछि झापाको बेलडाँगी शिविरमा रहेका शरणार्थीले आफूहरुका नाउँमा भएको भ्रष्टाचारको स्थानीयस्तरमा समेत छानबिन हुनुपर्ने आवाज उठाउन थालेका छन् ।
भुटानी शरणार्थीका नाममा नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिकालगायत देश पठाएको समाचार सुने पनि बेलडाँगी शिविरमा रहेका भुटानी शरणार्थी ठूलो गिरोहको डरले चुइँक्क बोल्न सक्दैनथे ।
जब उनीहरुको आशाको धरोहर मानिएका मुख्य नेता टेकनाथ रिजाल यो घटनामा संलग्न भएको आरोपमा पक्राउ परे । त्यसपछि शरणार्थी शिविरमा रहेका वास्तविक शरणार्थीहरुले स्थानीय स्तरमा पनि छानबिन हुनुपर्ने आवाज उठाउन थालेका हुन् । उनीहरुले तत्कालीन शिविर सञ्चालक समितिका पदाधिकारीलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने जनाएका छन् ।
‘टेकनाथ रिजाल मुख्य मान्छे हो । अहिले उहाँ नै मुछिएपछि अब उहाँभन्दा मुनिका मान्छे क्याम्पमा कति छन् ? एक-एक गरेर उठाउनुपर्यो,’ झापाको बेलडाँगी शिविरका शरणार्थी कविराज राईले भने ।
यसैगरी बेलडाँगीकै शरणार्थी कृष्णवीर तामाङ भने आफूहरुलाई स्वदेश फिर्ती हुन चाहिएको प्रतिक्रिया दिन्छन् । उनी आफूहरुलाई अहिले खानाकै अभाव रहेको र दाताहरुबाट आउने सहयोग रोकिएको पनि बताउँछन् ।
यस्तै नेताका कारण आफूहरु भुटानबाट लखेटिएर शरणार्थी हुनुपरेको उनीहरुको भनाइ छ । माथिल्लो स्तरका नेता भन्नेहरु कहिले पनि शरणार्थी शिविरमा आएर के कस्तो अवस्थामा बसेका छन् भनेर सोधखोजसमेत नगरेको उनीहरुको आरोप छ ।
सम्बन्धित समाचार
नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजालको भूमिका कति ?
नक्कली भुटानी शरणार्थी प्रकरणका लागि अनुसन्धान गर्न ३ दिन म्याद थप
नक्कली शरणार्थी प्रकरणमा सचिव र पूर्वमन्त्रीहरु कम्तीमा साढे १८ वर्ष जेल बस्नुपर्ने
शरणार्थी प्रकरण : ‘अमेरिकाको चासो स्वाभाविक, एफबीआईले पनि हेरेकै होला’
नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्याउँछौँ : गृहमन्त्री श्रेष्ठ
नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेले नै १ हजार १७ जनाको झुटो विवरण मन्त्रालयमा राखेको खुलासा