सुरूङ र भवनका भग्नावशेषहरूमा अझै सासको आस

अक्सिजन, आत्मबल र शारीरिक उर्जाले बचाउँछ जीवन
खाेज र उद्धार प्रयास जारी १२औँ दिन पनि जारी
भाद्र २१, २०८३ |कृपाल गौतम
सुरूङ र भवनका भग्नावशेषहरूमा अझै सासको आस

काठमाडौं । आज भोटेकोशीमा बाढी गएको १२औं दिन भयो । 

यो अवधिमा १०औं दिनमा दुई र एघारौं दिनमा दुई गरी चार जनाको उद्धार भएको छ । उद्धार भएकाहरुलाई घर तथा सुरुङ्गबाट उद्धार गरिएको हो । आखिर यसरी फसेको यति धेरै दिन बितिसक्दा पनि मानिस कसरी जिवित रहन्छ ? 

के अझै पनि सुरुङ वा घरका भग्नावशेषमा फसेकाहरु जिवितै उद्धार हुने सम्भावना हुन्छ ?

सुरुङभित्र फसेका मानिस कति समय जिवित रहन सक्छन् ? 

भोटेकोशी बाढीका कारण त्रिशुली थ्री 'ए' जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको दसाैं दिनमा उद्धार भएको छ भने एक चिनियाँ नागरिकको माथिल्लो त्रिशुली १ को सुरुङबाट ११औं दिनमा उद्धार भएको छ। 

नुवाकोटको बेत्रावतीमा घरको भग्नावशेषमा पुरिएकी महिनाको पनि शनिबार नै उद्धार भयो। यति धेरै दिनसम्म सुरुङ्ग वा घरका भग्नावशेषमा कोही फसिहालेमा बाँच्ने सम्भावना कस्तो हुन्छ ? के चाहिन्छ ? चिकित्सकहरुका अनुसार मानिसका लागि सबैभन्दा आवश्यक भनेकै अक्सिजन हो । 

यदि कतैबाट थोरै पनि अक्सिजन आइरहेको छ भने मानिस केही दिनसम्म जिवित रहने सम्भावना उच्च हुन्छ । फसेको स्थान चिसो भएकाले र शरीरमा धेरै हलचल नभएकाले शरीरमा ग्लुकोज धेरै नाश नभएको र न्युट्रिसनसमेत धेरै आवश्यक नपरेकाले शरीरमा बाँकी भएकै शक्तिले नै उहाँहरुलाई बचाइरहेको हुन सक्ने चिकित्सकको अनुमान छ ।

जलविद्युत् आयोजनाको सुरुङ कस्ता हुन्छन् त ? सामान्यत: आयोजनाका सुरुङमा प्रसस्तै ठाउँ हुन्छ जहाँ खाना पकाउन मिल्ने ठाउँदेखि आपतकालीन अवस्थामा बस्नका लागि पर्याप्त स्थान हुन्छ। तर, भोटेकोशी बाढीले जलविद्युत् आयोजनाका संरचना बगाउने र भत्काउने मात्र गरेर, सुरुङलाई नै पुरिदियो। 

यतिमात्र होइन, त्यति पर्याप्त खाली ठाउँ हुने सुरुङभित्र नि डेब्री, ढुंगा माटो, चट्टान र मुढाहरु पसे जसले धेरै मानिसहरु सुरुङ्मा फसे। तर, पनि केही मानिसको ११औं दिनमा पनि जिवित उद्धार भयो, अन्यलाई पनि जिवितै निकाल्न सकिने आशामा खोजकार्य चलिरहेको छ।

बाढीको १०औं दिनमा उद्धार हुनुभएका सञ्जय साहले उद्धारपछि सुरुङभित्र महामन्त्र जप गरेर बसेको बताउनुभएको थियो । बाँच्नका लागि मानिसले शारिरिक रुपमा त संघर्ष गर्छ नै, मानसिक रुपमा पनि उत्तिकै प्रयास गर्छ। कतिले आत्मविश्वास गुमाउँछन् भने कतिले जोगाइरहन्छन्। 

यस्तो अवस्थालाई मनोविज्ञानमा फ्लाइट अर फाइट अर्थात् लड वा भाग भनेर बुझिन्छ। मनोवैज्ञानिक भाषामा सञ्जयले मन्त्र जपेर बस्नुलाई फाइट मोड अर्थात् आत्मविश्वास जोगाइरहनका लागि गरेको प्रयासका रुपमा बुझ्न सकिन्छ।

यहाँ के बुझ्न जरुरी छ भने यसरी फसेका मानिस कति दिन बाँच्छन् भन्ने कुरा भने ठ्याक्कै भन्न नसकिने चिकित्सक बताउँछन् । मानिसको शारीरिक र मानसिक अवस्था र व्यक्ति फरेको ठाउँको वातावरण जस्ता कुराले जीवन रहने सम्भावनामा मुख्य भुमिका खेल्छ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।