
काठमाडौं । राजनीतिक दलहरूले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, रसुवा र धादिङ जिल्लामा राहत, उद्धार र पुनःस्थापनाका काममा कार्यकर्तालाई परिचालन गरेका छन् ।
विपद्को अवस्था बुझ्न शीर्ष नेताहरू आफैं पनि प्रभावित क्षेत्र पुगिरहेका छन् । प्रभावित क्षेत्रको अवस्था बुझेर उनीहरूले सुझाव पनि दिइरहेका छन् ।
भोटेकोशी बाढीप्रभावितको उद्धार तथा राहतका लागि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी- रास्वपाले उच्चस्तरीय ‘टास्कफोर्स’ गठन गरी आशिष थापाको नेतृत्वमा ‘र्यापिड एक्सन टिम’ परिचालन गरेको छ ।
पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार यो टिमले फिल्डमा सरकारी संयन्त्रसँग समन्वय गरिरहेको छ । टिममा सयौं नेता–कार्यकर्ता परिचालन गरिएको छ । उनीहरू नुवाकोट र रसुवामा काम गरिरहेका छन् । पार्टीले केन्द्रमा संकलन भएको राहत सामग्री संयन्त्रमार्फत प्रभावित क्षेत्रमा पुर्याइरहेको पनि रास्वपाले जनाएको छ ।
देशभरबाट पार्टी तथा शुभेच्छुकले संकलन गरेर ल्याएको राहतलाई सरकारी संकलन केन्द्रमा पुर्याउने र सरकारी संयन्त्रमार्फत प्रभावित ठाउँसम्म पठाउने कार्यमा सहजीकरण गर्न अर्को छुट्टै टोली पनि परिचालित छ । अरू दलका जस्ता विभाग र भ्रातृसंस्था नभएकाले पार्टीकै समन्वयमा सबै काम भइरहेको प्रवक्ता खरेलले बताउनुभयो।
रास्वपाले बाढी गएकै दिन प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ दिने घोषणा गरेको थियो । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पनि रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको नेतृत्वमा राहत तथा उद्धारमा पार्टी पंक्ति परिचालन गरेको छ ।
फिल्डमा तरुण, नेविसंघ तथा स्थानीय प्रतिनिधिहरू छन् । पार्टी सभापति गगन थापा पनि रसुवा र त्रिशूली पारिका बाढी प्रभावित क्षेत्र पुगेर फर्किनुभएको छ । उहाँले त्यहाँको आवश्यकता र तत्काल गर्नुपर्ने कामबारे सरकारलाई सुझाव दिनुभएको छ । पार्टीले प्रधानमन्त्री राहत कोषमा एकमुष्ट १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि शुक्रबार नुवाकोटका प्रभावित क्षेत्र पुगेर फर्किनुभएको छ । एमालेले सयौंको संख्यामा पार्टी कार्यकर्तालाई सुरुदेखि नै परिचालित गरेको दाबी गरेको छ। ओलीका प्रमुख स्वकीय सचिव निरु पालले राहत, उद्धार र सरसफाइका काममा पार्टीका जनसंगठनहरू परिचालित भएको जानकारी दिनुभएको छ ।
एमाले कार्यकर्ताले पीडितका घर सफा गर्ने, सामान झिकिदिने, बाटो सफा गर्ने, राहत तथा उद्धारका सामग्री स्थानीय तहका प्रतिनिधिलाई बुझाउनेलगायत काम गरिरहेका छन् । एमालेले संस्थागत रूपमा १ करोड २० लाख रुपैयाँ प्रभावित क्षेत्रका लागि सहयोग गर्ने घोषणा गरेको छ । तर, प्रधानमन्त्री राहत कोषमा रकम जम्मा नगरी आवश्यकताअनुसार स्थानीय पालिकालाई प्रदान गरिने एमालेले जनाएको छ ।
नेकपानिकट अखिल क्रान्तिकारीका विद्यार्थी पनि राहत वितरणमा सक्रिय भएका थिए भने दोस्रो चरणमा वाईसीएलका युवा उद्धारमा जुटेका छन् । उनीहरूले भग्नावशेषमा पुरिएका घरहरूमा कोही फसिरहेका छन् कि भनेर खोज्ने, घर सफा गर्नेलगायत काम गरिरहेका छन् ।
एउटा टोलीले राहत, अर्को टोलीले उद्धार तथा सरसफाइ र अर्को टोलीले मेडिकल क्षेत्रमा काम गरिरहेको नेकपा नेता युवराज दुलालले जानकारी दिनुभएको छ । यी सबै काम केन्द्रबाट पार्टीको विपद् व्यवस्थापनसम्बन्धी विभागले संयोजन गरिरहेको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कार्यकर्ताहरू बाढी प्रभावित क्षेत्र स्वःस्फुर्त परिचालित भएको बताउनुभयो । उहाँका अनुसार राप्रपा कार्यकर्ताहरू राहत, उद्धार र सरसफाइमा काममा संलग्न छन् । पार्टीबाट राहतका लागि आर्थिक संकलन जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
श्रम संस्कृतिका पार्टीका अध्यक्ष हर्क साम्पाङ आफैं बाढी प्रभावित क्षेत्र पुग्नुभएको छ। पार्टीका कार्यकर्ता उद्धारमा सहजीकरण गरिदिनेलगायतका काममा पनि सक्रिय छन् ।
कुलचन्द्र न्यौपानेको रिपोर्ट