नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ : गृहमन्त्री श्रेष्ठ

जेष्ठ ३, २०८० |कान्तिपुर टीभी संवाददाता
नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार मन्त्रालयमा नेकपा (एकीकृत समाजवादी) का नेता तथा कार्यकर्ताले नक्कली शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीउपर कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली नागरिकलाई विदेश पठाउने र त्यसबाट पैसा संकलन गरी सम्पत्ति आर्जन गर्नेकुरा संगठित अपराध भएको जनाए । उनले यो अपराधमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउने जनाए ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र भ्रष्टाचार नियन्त्रण नभएसम्म समृद्धिको लक्ष्य हाँसिल हुन नसक्ने जनाए । उनले कुनैपनि भ्रष्टाचारका प्रकरणहरु निष्पक्ष भएर छानबिन गर्ने र कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित नहुने उल्लेख गरे । 

‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ । आफ्नो देशको नागरिकलाई अनागरिक बनाइ विदेशमा पठाइ पैसा संकलन गर्ने र आफ्नो जीवन व्यतित गर्ने उद्देश्यका साथ जुन प्रक्रिया अघि बढायो यसलाई छुट दिनेकुरा हुन सक्दैन । हामीले कुनै केसमा बिना पूर्वाग्रह छानबिन गर्ने, निर्दोष फस्नु नहुने र दोषी उम्किनु हुँदैन भनेर काम र छानबिन गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘कुनैपनि दबाबमा वा कुनैपनि अवाञ्छित प्रभावबाट सरकार प्रभावित हुँदैन, अनुसन्धानको प्रक्रियालाई तथ्य र प्रमाणको आधारमा निस्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध छ । दोषीलाई कारबाहीको प्रक्रियामा लगि छोड्छौँ ।’

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट पार्टी उपमहासचिव जगन्नाथ खतिवडासहितको टोलीले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.