नक्कली शरणार्थी प्रकरणमा सचिव र पूर्वमन्त्रीहरु कम्तीमा साढे १८ वर्ष जेल बस्नुपर्ने

जेष्ठ ६, २०८० |रमेश धमला
नक्कली शरणार्थी प्रकरणमा सचिव र पूर्वमन्त्रीहरु कम्तीमा साढे १८ वर्ष जेल बस्नुपर्ने

काठमाडौं । प्रहरीले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर प्रतिवादीको सूची तयार पारेको छ । दुई पूर्वमन्त्री र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित १६ जनालाई पक्राउ गरेको प्रहरीले विभिन्न ६ वटा कसुरमा ३२ जना विरुद्ध मुद्दा लैजाने गरी रायसहितको प्रतिवेदन तयार पारेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रहरीले पूरा गरेको छ । संगठितसहित ६ वटा कसुरमा मुद्दा चलाउने रायसहित प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय मार्फत मुद्दाका लागि सिफारिस गर्ने भएको हो ।

प्रहरी स्रोतका अनुसार हालसम्म पक्राउ परेका १६ जनाबाहेक अन्य १६ जना फरारसहित ३२ जनालाई प्रतिवादी बनाइने छ । ६ वटा कसुरमा मुद्दा चलाउनु पर्ने राय सहितको प्रतिवेदन तयार पारेको प्रहरीले महान्यायाधिवक्ता कार्यालयसँग पनि समन्वय गरिरहेको छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाण , पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, बालकृष्ण खाणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी र टेकनाथ रिजाललाई सङ्गठित र ठगीबाहेक राष्ट्रहित विपरीतको कसुर, भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउने राय तयार पारिएको छ ।

भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा हुने सजायबाहेक मात्रै साढे १८ वर्ष कैद संजाय र अपराधबाट आर्जित सम्पत्ति समेत जफत गर्न सकिने कानुन प्रयोग गर्न लागिएको हो । मुलुकी अपराध संहिता राज्यविरुद्धको कसुरको दफा ५१ मा राष्ट्रहित प्रतिकुल काम गर्नेलाई ५ वर्ष जेल सजाय हुन्छ । ५१ को क अनुसार शरणार्थी प्रकरणमा नेपालको अन्तर्राष्ट्रिय छवि उपर अपमान हुने अपराध गरिएको प्रहरीको निष्कर्ष छ, सार्वजनिक पद धारण गरेको व्यक्तिको हकमा ५ वर्षमा ३ वर्ष जेल सजाय थप हुन्छ । अर्कोतर्फ ठगीमा ७ वर्ष र सङ्गठित अपराधमा थप पचास प्रतिशत सजाय हुँदा कम्तीमा पनि साढे १८ वर्ष जेल बस्नुपर्ने देखिन्छ । यसमा सरकारी कागजात किर्ते लगायतको सजाय थपिएमा कारागार बस्ने मिति अरू लम्बिन सक्छ ।

अहिलेसम्म पक्राउ परेका गैरसरकारी व्यक्तिहरू विरुद्ध सङ्गठित ठगी र किर्तेमा मुद्दा जाने छ । त्यस्तै अहिलेसम्म फरार रहेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र इन्द्रजितका छोरा निरज बाहेक अन्य १४ जनालाई पनि फरारको सूचीमा राखेर मुद्दा दायर हुने छ ।

पीडितबाट असुल भएको रकम लेनदेनमा बैंक खाता प्रयोग गरिएका अशोक पोखरेल, हरिभक्त मर्हजनलगायत १४ जना छन् । प्रहरीले गरेको अनुसन्धानका क्रममा खाणले १ करोड २३ लाख रकम लिएको खुलेको छ भने इन्द्रजित राईले ३ करोड ८० बुझेका छन् । अधिकांशलाई रकम भने केशव दुलाल र सानु भण्डारीले नै बुझाएका हुन् ।

पक्राउ परेका पूर्वसांसद आङटावा शेर्पाले आफ्नो छोरालाई पनि भुटानी शरणार्थी बनाएरै अमेरिका पठाएको आशंका छ । आइतबार दिउँसोसम्म सम्पूर्ण प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने गरी काम प्रहरीले गरिरहेको छ ।

६० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने भएकाले जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिले पनि संगै मिसिल तयार पारिरहेका छन् । यो प्रहरीले एक सङ्गठित अपराधमा एक साथ यति उच्च तहका पदाधिकारी विरुद्ध एक साथ अनुसन्धान गरेको पहिलो पटक हो ।

सम्बन्धित समाचार...

शरणार्थी प्रकरण : ‘अमेरिकाको चासो स्वाभाविक, एफबीआईले पनि हेरेकै होला’

नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्‍याउँछौँ : गृहमन्त्री श्रेष्ठ

नक्कली शरणार्थी प्रकरण : सचिव पाण्डेले नै १ हजार १७ जनाको झुटो विवरण मन्त्रालयमा राखेको खुलासा


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement