काठमाडौं । भोजपुरकी विमला पराजुलीको सङ्घर्ष कथाको सन्दर्भ जोड्दै पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले भनिन्, 'मेरो सङ्घर्षको कथा विमलाजीको जस्तो गहकिलो, चाख लाग्दो त छैन । तर एउटा समानता भने छ- उहाँले चिया बेचेर आफ्नो छोरालाई पढ्न अमेरिका पठाउनु भयो । मेरी आमाले चाहिँ चिया बेचेर मलाई पढाउनु भा... !'
बुधबार कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले काठमाडौंमा आयोजना गरेको कार्यक्रम ‘निर्भीक नारी’ को चौथो सत्र थियो 'अवरोधहरू छिचोल्दै उडान' । यस सत्रकी एक वक्ता पूर्वपरराष्ट्रमन्त्री डा. विमला पनि थिइन् ।
दोस्रो विश्वयुद्धताका सबैलाई वर्माबाट लखेटिएपछि उनको परिवार पनि वर्माबाट नेपाल फर्क्यो । नेपाल आउनेक्रममा १ वर्ष भारतस्थित शरणार्थी शिविरमै विमलाको परिवारले बस्नु परेको थियो ।
आमा एकल, ५ सन्तानहरू र नातिनातिना; त्यसमाथि सुकुम्वासीको जीवन । परिवारलाई वर्माबाट ल्याएर मोरङमा स्थापित गर्नु त्यति सहज थिएन ।
विमलाकी आमाले कहिल्यै स्कुल जान पाइनन् तर शिक्षाप्रति उनको लगाव भने कम थिएन । घरमै संस्कृत पढ्न पाएका कारण शिक्षाको महत्त्व उनले राम्ररी बुझेकी थिइन् । विमला भन्छिन्, 'यी छोरा मोराहरूले जे गरेर नि खान्छन् । आत्मनिर्भर चाही छोरीले हुनु पर्छ भनेर आमाले हामी सानै हुँदादेखि भन्नुहुन्थ्यो । यो कुरा दोहोर्याइ रहनुहुन्थ्यो ।'
'मेरी आमा अहिले १ सय १ वर्षको हुनुहुन्छ । उहाँलाई अहिले पनि शिक्षाप्रति असाध्यै धेरै लगाव छ ।' विमला थप्छिन्, 'आमाको त्यही लगावको प्रभावले होला । मलाई पनि सानैदेखि पढ्नु पर्छ । बेस्सरी मिहिनेत गर्नु पर्छ भन्ने मनमा आउँथ्यो ।'
विमलाको घर आर्थिक समस्याभन्दा पर थिएन । सन्तानको लालनपालन र शिक्षाका लागि आमाको सङ्घर्ष जारी रह्यो । आमाले चिया बेचेर विमला र उनका भाइबहिनी पढाइन् ।
०००
विमला ५ कक्षामा पुगिन् । कक्षा ५ को परीक्षा पनि आयो । स्कुलले परीक्षा शुल्कबापत २० रूपैयाँ तिर्नू भन्ने बिल विमलासँग उनको घरमा पठायो । आमासँग पैसा छैन भन्ने थाहा पाएकी विमलाले त्यो कुरा आफ्नी आमालाई भनिनन्, स्कुल पनि गइनन् । विमला भन्छिन्, 'स्कुलमा २० रुपियाँ तिर्नु पर्ने, त्यो तिर्नु पर्छ भनेर तिम्रो छोरी स्कुल नै गएकी छैन भनेर एक जना साथीले आमालाई भन्दिएछ ।'
एक आमालाई यो भन्दा ठूलो अरू के चिन्ता हुन्थ्यो र ?
आमाले २० रुपैयाँमा जाँतो बेचिन् र विमलाको स्कुल फिस जोहो गरिदिइन् । 'त्यही रुपैयाँ लिएर म स्कुल गएँ अनि मलाई जाँच दिन दिनुभयो टिचरले' विमलाले आँखा रसिला बनाउँदै त्यो क्षण सम्झिइन् । उनले भनिन्, 'त्यस क्षणले मलाई एकदमै छोयो । मेरी आमाको शिक्षाप्रतिको त्यो लगाव मैले एकदमै राम्रोसँग बुझेँ ।'
त्यही बुझाइका साथ विमलाले अठोट गरिन् । मैले मिहिनेत गरी पढ्नु पर्छ । मिहिनेत गरेपछि छात्रवृत्ति पाइन्छ । पढेपछि काम र दाम पाइन्छ भनेर मनमनै दोहोर्याइन् । विमला त्यो आफ्नो 'फर्मुला' नै बनेको बताइन् । 'मैले पिएचडी गरेँ । अहिलेसम्म मैले कतै पनि फी तिर्नु परेको छैन ।' विमला हर्षका साथ बताउँछिन् ।
उनले नेदरल्यान्डको 'इन्स्टिच्युट फर सोसल इस्टडिज' बाट विकास अध्ययनमा विद्यावारिधि गरेकी छन् ।
त्यसका साथै संयुक्त अधिराज्यबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गरेकी छन् ।
विमलाले राष्ट्रिय योजना आयोगको पूर्व सदस्य भई काम पनि गरिसकिन् । उनले सन् २०१६ देखि २०१८ सम्म युएन वुमन इन नेपालको लागि प्राङ्गारिक कृषि सम्बन्धी उच्चस्तरीय कार्यदल र नागरिक समाजको सल्लाहकार समूह सदस्यको रूपमा पनि काम गरेकी छन् ।
हाल संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको सदस्यसमेत रहेकी डा. विमलाले यसै वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अघिल्लो मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्रीको रुपमासमेत काम गरिन् ।
सम्बन्धित समाचार...
विमला राई पौड्याल परराष्ट्रमन्त्री