सामाजिक सुरक्षा कार्यक्रम : गरिबी निवारण र समृद्धिको आधार

असार १९, २०८२ |विजय पौडेल
सामाजिक सुरक्षा कार्यक्रम : गरिबी निवारण र समृद्धिको आधार

सामाजिक सुरक्षा कार्यक्रम सुख र समृद्धिको पहिलो खुड्किलो हो । हरेक नेपाली र सरकारको चाहना सुखी नेपाली समृद्ध नेपाल भन्ने छ । तर गरिबीको रेखामुनी रहेका नेपालीको स्तरोन्नति नभई तथा पछाडि परेका वर्ग क्षेत्र समुदायको उत्थान नभएसम्म हाम्रो विकास र समृद्धिको लक्ष्य पूरा हुन सक्दैन । स्वस्थ्य र सक्षम बालबालिकाबिना देश विकास असम्भव छ । 

शिक्षा, स्वास्थ्य, रोजगार र उद्यमशीलतामा हरेक नागरिकको समान पहुँच भएमा मात्र देशले प्रगति गर्न सक्छ र हाम्रो भविष्य सुरक्षित हुन सक्छ । यसको सुरुआत सामाजिक सुरक्षाका दिगो र समावेशी कार्यक्रम ल्याएर ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म तथा गरिबीको दुश्चक्रमा फसेका नागरिक एवं पछाडि परेका वर्ग, क्षेत्र र समुदायलाई उत्पादनशील तथा उत्थनशील बनाई जोखिम बहन गर्न सक्ने क्षमता बढाएर मात्र हुन सक्छ । 

सामाजिक सुरक्षा बहस कार्यक्रममा सामाजिक सुरक्षा यी विविध आयाममा छलफल गरिएको छ । कार्यक्रमको अवस्था, नीति निर्माण, लाभग्राहीको लाभ र अनुगमन तथा यसमा भएका कमीकमजोरीमा पनि सामाजिक सुरक्षा बहसमा छलफल भएको छ । अनौपचारिक क्षेत्रका कामदारहरूको ठूलो हिस्सा सामाजिक सुरक्षाबाट वञ्चित हुँदा परेका समस्या, रोजगार सेवा केन्द्रहरू प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक, वित्तीय र समन्वयका चुनौतीहरूका विषयमा कार्यक्रममा विशेष छलफल भएको छ । 

प्रमाणमा आधारित नीतिनिर्माणको अभ्यासमा तथ्यांकको गुणस्तर, पहुँच र राजनीतिक प्रभावका कारण परेको असर र यसले सामाजिक सुरक्षा कार्यक्रममा ल्याएको अलमल, दोहोरोपना र वेथितिका विषयमा वक्ताहरूले प्रश्न तथा सुझाव समेत राखेका छन् । योजना आयोगले राष्ट्रिय एकीकृत सामाजिक सुरक्षा संरचना २०८० निर्माण गरी समन्वयका लागि प्रयास गरिरहे पनि कार्यान्वयन पक्ष अझ कमजोर देखिएको विषय पनि कार्यक्रममा उठान भएको छ । सामाजिक सुरक्षामा दिगो वित्तीय स्रोत व्यवस्थापन, बजेटको प्रभावकारी प्रयोग र समावेशी पहुँचका लागि नीतिगत तथा संस्थागत सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा हरेक एपिसोडमा विशेष चर्चा भएको छ । यसैगरी यी सबै समस्या समाधान गरी प्रभावकारी सञ्चालनका लागि एक उच्चस्तरीय संयन्त्र वा निकाय आवश्यक छ भन्नेमा वक्ताहरूले जोड दिएका छन् ।

सामाजिक सुरक्षा बहसका विभिन्न एपिसोडमा सामाजिक सुरक्षा एकीकृत फ्रेमवर्क र सरकारको नीति तथा कार्यक्रमदेखि विपद् संवेदनशील सामाजिक सुरक्षा र अनौपचारिक क्षेत्रका श्रमिकको सुरक्षाका विषयमा पनि छलफल गरिएको छ । मुख्य रूपमा सामाजिक सुरक्षा कार्यक्रमले संकटका बेलामा कसरी सहयोग गर्न सक्छ र व्यक्तिलाई संकटासन्न अवस्थाबाट बाहिर निकालेर उत्थनशील बनाई गरिबीको दुश्चक्रमा पर्नबाट जोगाउँछ भन्ने विषयमा बहस बढी केन्द्रित छ । समग्रमा विकास र समृद्धिको आधारशीला सामाजिक सुरक्षा कार्यक्रम हो र यसको प्रभावकारी सञ्चालनले नै नागरिकको विकास आकांक्षा पूरा गर्न सकिने तथा राज्यले लिएका लक्ष्य र अन्तर्राष्ट्रिय रूपमा दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ भन्ने निष्कर्ष रहेको छ । 

विभिन्न एपिसोडमा उठेका यी मुद्दा र आएका सुझाव सरकार समक्ष राख्न तथा सरकारको धारणा जान्न सामाजिक सुरक्षा बहसमा नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग समेत कुराकानी गरिएको छ ।

हेर्नुहोस् कार्यक्रम सामाजिक सुरक्षा बहस :


Image

विजय पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक हुन् ।