काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक संयुक्त छनोटमा घरेलु टोली ओमानले विजयी सुरुवात गरेको छ । समूह सीको खेलमा ओमानले सामोआविरुद्ध ५ विकेटको जित हात पारेको हो ।
मस्कटस्थित अल अमिरात क्रिकेट ग्राउन्डमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको सामोआले २० ओभरमा ९ विकेट गुमाएर ९२ रनको सामान्य योगफल तयार पारेको थियो । सामोआका लागि रोस टेलरले २२ रन, सोमन नेशले १० रन र फेरेटी सुलुओटोले २२ रनको योगदान दिए । बाँकी कुनै पनि ब्याटर दोहोरो अंकमा पुग्न सकेनन् । ओमानका लागि शाह फैसल, मोहम्मद नदीम र आमिर कलीमले समान २-२ विकेट लिए ।
जवाफमा ९३ रनको लक्ष्य ओमानले १८ बल बाँकी रहँदै ५ विकेट गुमाएर पुरा गर्यो । ओमानका असिश ओडेगारा १५ रन, हाम्मद मिर्जा १८ रन र आर्यन बिष्ट १४ रनमा आउट भए । मोहम्मद नदीम २१ रनमा नटआउट रहे । बलिङतर्फ सामोआका साउमानी टियाइले २ विकेट लिए ।
जितसँगै ओमानले समूह सीमा २ अंक जोडेको छ । उ समूहको शीर्ष स्थानमा उक्लिएको छ । सामोआले आफ्नो दोस्रो खेमा भोलि पपुना न्यूगीनीसँग प्रतिस्पर्धा गर्ने छ । ओमानले बुधबार पीएनजीसँग खेल्ने छ ।
आज भएको दोस्रो खेलमा युएईले कतारलाई सात विकेटले पराजित गरेको छ। एक सय १९ रनको लक्ष्य युएईले नौ बल बाँकी रहँदै तीन विकेट गुमाएर पुरा गरेको हो।