धेरै नेपाली दर्शकका प्रिय अभिनेता हुन् सरोज खनाल । चलचित्र, टेलिशृंखला र नाटक तीनै विधामा आफूलाई प्रमाणित गरिसकेका छन् उनले । अहिले चलचित्र ‘नरसिंहा अवतार’ मार्फत खनाल पुनः ठूलो पर्दामा देखिएका छन् । सिनेमा घरमा मात्र होइन, ३२ वर्षपछि ‘मन्जिरा’ नाटकमार्फत उनी नाटक घरमा पनि छाएकै छन् । उनै खनालसँग पुनरागमनको अनुभव र स्मृतिका पदचाप लगायत विभिन्न विषयमा कान्तिपुरकर्मी रूपा खड्काले गरेको कुराकानीको सम्पादित अंश :
सिनेमा घरमा नरसिंह अवतार, नाटक घरमा मन्जिरा । कुनै समय तपाईंलाई हेर्न दशकै कुरेका दर्शक अहिले जता गए तपाईंलाई नै पाइरहेका छन् । त्यसमाथि राजेश हमालसँग वर्षौंपछिको स्क्रिन शेयर । दर्शकको प्रतिक्रिया र आफ्नै अनुभव कस्तो भइरहेको छ ?
अहिले नयाँ चलन रहेछ । फ्लिम हलमा कलाकारहरू प्रोमोशनका लागि जानुपर्ने । देश दौडाहा गर्नुपर्ने । यता नाटकमा त आफैं हुनैपर्छ । ब्यालेन्समा चल्दैछ । नरसिंहाको बारेमा भन्नुपर्दा प्रचार गरेर मात्र हुँदैन । दर्शकले राजेश हमालजीलाई ८ वर्षपछि कमब्याक गर्दा फरक रूपको अपेक्षा गर्नुभएको रहेछ । तर पुरानै शैलीमा उहाँको पुनरागमन भएकोमा दर्शकहरूले कमेन्ट गरेको पाएँ ।
विजय पराजयको पहिलो दिनदेखि र नरसिंहा अवतार प्रदर्शनीको समयसम्म आइपुग्दा नेपाली चलचित्रको अवस्था कस्तो पाउनुभयो ?
विकास भएको छ । धेरै परिवर्तन आइसक्यो । म आफैं परिवर्तन भइसकें । प्राविधिक पक्ष, कलाकारको अभिनयस्तर पनि एकदमै माथि जाँदैछ । सिकेर आइरहेका छन् धेरै कलाकार । आफू कुन फिल्डमा जाँदैछु भन्ने थाहा छ उहाँहरूलाई । थिएटरबाट नै सिनेमामा लग्नुभएको छ । तर स्क्रिनप्लेमा मात खाइरहेका छौं ।
अहिले त विभिन्न तालिम पाइन्छ । सामाजिक सञ्जालबाटै पनि सिक्न सकिन्छ । तर खै नेपालमा स्क्रिनप्लेमा प्रतिभावान मान्छेहरू आइरहनुभएको छैन । स्क्रिनप्लेका लागि हुने विशेष कोर्स सिक्ने इच्छा हुनपर्यो । हामी विदेशी सिनेमाको तुलनामा स्क्रिनप्लेमै मात खाइरहेका छौं । हैन भने कुनै पनि स्तरमा हाम्रा कलाकार, टेक्निसियनहरूमा कमी देख्दिनँ म ।
धेरै परिवर्तन भए, तर तपाईं उस्तै देखिनुहुन्छ नि । कसरी ?
सन्तोकी भएर होला । म कुनै कुराको चिन्ता गर्दिनँ । आफ्नो तकदिरमा जे लेखेको छ, त्यो हुन्छ भन्ने सोच्छु । नलेखेको कुरा मैले टाउको फोडे पनि पाउँदिनँ ।
मण्डला थिएटरमा अहिले तपाईं अभिनित मन्जिरा मञ्चन भइरहेको छ । यो कस्तो नाटक हो ?
यो निकै गहन विषयवस्तुमा आधारित नाटक हो । यो संक्रमणकालीन घटनासँग सम्बन्धित छ । राज्य र विद्रोही न्यायको लडाइँमा छन् ।
तपाईं बेला बेला नाटकमा फर्किइरहनु हुन्छ नि । के अभिनयको भोकले हो ?
अमेरिका जानुअघि पनि ३२ वटा नाटकमा काम गरेको थिएँ । कलाकार सरोज खनालको जन्म नै थिएटरबाटै भएको हो । बीचमा अमेरिकाबाट आउँदा १२ दुर्बासा भन्ने नाटकमा काम गरेको थिएँ । मण्डलामै प्रदर्शन भएको थियो । २८ दिनसम्म हाउसफुल भएको थियो ।
अहिले ८ वर्षपछि मन्जिरा गर्ने सौभाग्य पाएको छु । यो नाटक गर्नुको पछाडि कारण छन् । एक त नाटकले मलाई अभिनयको अनुशासनमा राख्छ । अर्को यसको विषयवस्तु सान्दर्भिक छ । आर्टिस्ट, सिनेमा, म्युजिक भिडिओ, नाटक मनोरञ्जनका लागि मात्र हो भन्ने सोच्छौं हामी । तर एउटा जिम्मेवार कलाकारले देशमा भइरहेका घटनालाई उजागर गर्नुपर्छ भन्ने मेरो सोच हो ।
थिएटरले धेरै कलाकार दियो सिनेमालाई । सिनेमाले चाहिँ थिएटरलाई के दियो ?
नाटकले मात्र दिने हो सिनेमालाई । नाटकलाई सिनेमाले केही दिँदैन ।
तपाईं आफैं अभिनित प्रेमपिण्ड, चोखोमाया, विजय पराजय लगायतका चलचित्रसँग अहिले आफैंले खेलेका चलचित्रलाई दाँजेर हेर्दा नम्बर दिनुपर्यो भने कति दिनुहुन्छ ?
ती सिनेमाको म प्रमुख पात्र हुन्थें । समय परिवर्तन भयो । अहिले प्रेमपिण्डमा जस्तो ‘के भनूँ म, म कसो गरी परें मोहिनीको माया जालैमा’ भनेर नाचें भने मलाई सुहाउँदैन । दर्शकले पचाउनु पनि हुँदैन । त्यही कारण अब मैले के गर्नुपर्छ भन्ने अब मलाई राम्रोसँग थाहा छ ।
अहिले म सपोर्टिङ क्यारेक्टरमा छु, त्यस कारण त्यो बेलाका कुरा र यो बेलाका कुरा दाँज्न मिल्दैन । सिर्फ म कलाकार हुँ । आफ्नो पर्फर्मेन्स देखाउन लोभी मान्छे, त्यो नाताले मैले चलचित्र गरिरहेको हुँ ।