६ दिनभन्दा बढीलाई पुग्दैन ग्यासको स्टक, सवारीमा जोरबिजोरदेखि बिदा बढाउनेसम्मका विकल्प सुझाउने तयारी

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
६ दिनभन्दा बढीलाई पुग्दैन ग्यासको स्टक, सवारीमा जोरबिजोरदेखि बिदा बढाउनेसम्मका विकल्प सुझाउने तयारी

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले नेपालसँग करिब ६ दिनका लागि मात्र एलपीजी ग्यासको भण्डार क्षमता भएकाले उपभोक्ता पनि त्यसका लागि तयार हुँदै विद्युतीय वा अन्य वैकल्पिक ऊर्जातिर जानुपर्ने बताउनुभएको छ ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा कुरा गर्दै उहाँले आपूर्ति व्यवस्था सहज गर्नकै लागि आधा सिलिन्डर वितरण गरिएको भन्दै इरान र अमेरिका-इजरायल युद्ध नरोकिए अवस्था थप प्रतिकूल हुनसक्ने बताउनुभयो ।

यस्तै पेट्रोल र डिजेलको मूल्यमा पनि अत्यधिक वृद्धि हुनसक्ने उहाँले बताउनुभयो । इरान र अमेरिका-इजरायल युद्धका कारण तेलको मूल्य धेरै बढेर आएकाले अहिले नै निगमले प्रतिमहिना ८ अर्ब नोक्सानी बेहोरिइरहेको र मूल्यवृद्धिको विकल्प नभएको उहाँको भनाइ छ ।

भट्टले पेट्रोलियम पदार्थको खपत कम गर्ने विकल्पका विषयमा पनि छलफल सुरु गरेको जानकारी दिनुभयो । निजी सवारीमा जोरबिजोरदेखि, बिदा बढाउनेसम्मका विकल्पमा जानुपर्ने उहाँको तर्क छ । कार्यक्रम सरोकार आज साँझ ७ बजे कान्तिपुर टेलिभिजन र कान्तिपुर टेलिभिजनको युट्युब च्यानल‍मा प्रसारण हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.