
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास मन्त्रालयलाई मात्रै ३ खर्ब २ अर्ब ८३ करोड ५२ लाख बजेट विनियोजन गरेको छ ।
यो भनेको मन्त्रालयगत रूपमा सबैभन्दा बढी र कुल बजेटको १४.२५ प्रतिशत हो । यो बजेटले गौरवका परियोजनासहित ठूला आयोजनालाई कत्तिको सम्बोधन गर्छ त ?
हुलाकी लोकमार्ग आयोजना सुरु भएको १७ वर्ष नाघ्यो । तर, भौतिक प्रगति जम्माजम्मी ७३.३५ प्रतिशत मात्रै छ । ६५ अर्ब २० करोड लागत अनुमान गरिएको यो गौरवको परियोजना यसबीच ३५ अर्बले बढेको छ । नयाँ लागत अनुमान १ खर्ब १ अर्ब पुगेको अनुमान छ । तर, शुक्रबार सरकारले पेस गरेको बजेटमा यो परियोजनालाई ४ अर्ब ६५ करोड मात्र छुट्याइएको छ ।
जबकि हालसम्म ७२ अर्ब ५५ करोड खर्च भइसकेको यो परियोजना सम्पन्न गर्न करिब २९ अर्ब आवश्यक छ । त्यसबाहेक १० अर्ब त दायित्व मात्रै छ । अहिलेकै अनुपातमा रकम विनियोजन भए हुलाकी लोकमार्ग सम्पन्न गर्न करिब ७ वर्ष लाग्ने देखिन्छ । तर, सरकार भन्छ- तीन वर्षभित्र सक्छु ।
पुष्पलाल मध्यपहाडी लोकमार्गलाई पनि सरकारले ३ वर्षभित्र सक्ने लक्ष्य राखेको छ । जसका लागि २ अर्ब १६ करोड विनियोजन गरिएको छ । तर, परियोजना सक्न ११ अर्ब रकम चाहिने देखिन्छ । बाँकी दायित्व पनि ९ अर्ब छ । सडकतर्फका ६ गौरवका आयोजनामध्ये सबैभन्दा बढी भौतिक प्रगति भएको यो परियोजनामा हालसम्म ७२ अर्ब ३६ करोड खर्च भइसकेको छ ।
यसपालि काठमाडौँ तराई/मधेश द्रुतमार्गलाई सरकारले १७ अर्ब ६४ करोड छुट्याएको छ । जसमा ४० वटा पुल, ५.४ किमि सुरुङ र लिंक रोड निर्माण गरिने उल्लेख छ । द्रुतमार्गको निर्माण म्याद सकिन ११ महिना मात्र बाँकी छ । तर, भौतिक प्रगति जम्मा ४८ प्रतिशत छ ।
आयोजनाको कुल लागत अनुमान २ खर्ब ११ अर्ब ९३ करोड छ । अन्य परियोजनाको हकमा समय तोकेरै निर्माण सक्ने दाबी गरेको सरकारले द्रुतमार्गका हकमा भने मिति तोकेको छैन । आयोजनाअन्तर्गत खोकना खण्डको ६.५ किलोमिटर खण्डको विवाद अझै टुंगिइसकेको छैन भने १३ वटा प्याकेज मध्ये ११ वटामा काम जारी छ ।
यस्तै कोशी, कालीगण्डकी र कर्णाली करिडोरमा सरकारले बजेट विनियोजन गरेको भए पनि पर्याप्त बजेट छुट्याउन सकेको छैन । कोशीको ४५, कालीगण्डकीको ८० र कर्णालीको २० प्रतिशत हाराहारीमा मात्रै भौतिक प्रगति छ । यी तीन आयोजनाका लागि ६ अर्ब ५५ करोड मात्रै विनियोजन गरिएको छ ।
गौरवका यी ६ परियोजनालाई सरकारले केही प्राथामिकता दिए पनि पर्याप्त भने छैन । तथापि नयाँ परियोजना अघि सारेर बजेट छर्नुसाटो भएकै परियोजनामा एकीकृत गर्नु सकारात्मक भने छ । प्रमुख आयोजनातर्फ सरकारले पूर्वपश्चिम राजमार्गलाई ५ वर्षभित्र सम्पन्न गर्ने दाबी गरेको छ ।
जसका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरेको छ । मदन भण्डारी राजमार्गको हकमा सरकारले १ अर्ब ४६ करोड विनियोजन गरेको छ । अघिल्लोपटक यो सडकले २ अर्ब ५१ करोड पाएको थियो । यता बीपी राजमार्ग पुनःनिर्माणको हकमा भने प्रस्ट अंक सरकारले खुलाएको छैन ।
यसपटकको बजेटमा पहिरोले सडक अवरोध गरे तत्काल यातायात सञ्चालनका लागि ३ अर्ब १७ करोड, सडकको राष्ट्रव्यापी मर्मतसम्भार गर्न २८ अर्ब ५२ करोड र सडक सुरक्षाका लागि २ अर्ब ४६ करोड विनियोजन गरिएको छ ।