वीरगंज । देश संघीय व्यवस्थामा प्रवेश गरेसँगै तीन तहका सरकारका लागि दुई पटक निर्वाचन सम्पन्न भइसकेको छ । संघ र प्रदेशमा भइरहेका सरकार परिवर्तनका कारण जनताले भोगेका कठिनाइ र देशले भोगेको नियतिबारे दल र नेतालाई जनताले मूल्यांकन गरिरहेका छन् र गर्ने नै छन् ।
यसबीच जनताको आँगनका स्थानीय सरकार चाहिँ कसरी चलिरहेका छन् त ? स्थानीय सरकारले कस्ता समस्या भोग्दै आएका छन् ? यिनै विषयलाई समेटेर कान्तिपुर टेलिभिजनले सुरु गरेको कार्यक्रम 'महानगर महाबहस'को पहिलो अंकमा वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहसँग गरेका छौं ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह जनतासँग खुसी हुनुहुन्न । उहाँ भन्नुहुन्छ, 'नगर सफा राख्न जनताको साथ नभएर समस्या छ ।' तर नगरबासी भने मेयरका अगाडि बोल्न पनि डर लाग्ने बताउँछन् । महानगर महाबहस’ को पहिलो अंकमा वीरगंज महानगरपालिकाका प्रमुख सिंहसँग उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरु, विद्यार्थी, शिक्षक, उद्योगी व्यवसायी तथा नागरिक समाजका अगुवाहरुले समेत चुनावी वाचा र अहिले भइरहेका कामका बारेमा प्रश्न गरेका छन् ।
वीरगंज महानगरपालिकाले पछिल्लो साढे २ वर्षमा गरेको कामको मूल्यांकन स्थानीयले कसरी गरेका छन् त ? महानगर नेतृत्वले सुधार गर्नुपर्ने काम के-के छन् ? आर्थिक राजधानीको पहिचान बनाएको वीरगंजका उद्योगी व्यवसायीले भने आर्थिक राजधानी भनिए पनि सरकारको दृष्टिकोण वृहत् हुन नसकेको तर्क गर्छन् । उनिहरु सन्तुष्ट त हुन सकेका छैनन् नै, आफ्नै उद्योग व्यवसाय कसरी धान्ने भन्ने चिन्तामा समेत छन् ।
संविधानले व्यवस्था गरेअनुसारका अधिकार स्थानीय सरकारले कति पाए अनि नागरिकलाई कति दिए ? सेवा प्रवाहमा कति सफल छन् स्थानीय सरकार ? नेतृत्वले चुनावमा गरेका बाचा आधा कार्यकाल सकिँदा कति पूरा गरे, कति बाँकी छन् ?
जनताको सबैभन्दा नजिकको मानिने स्थानीय सरकार प्रमुखसँग सम्बन्धित पालिकाकै सरोकारवाला पक्षसँग वीरगंजमै पुगेर कान्तिपुर टेलिभिजनले गरेको छलफल कार्यक्रम महानगर महाबहस’मा स्थानीय सरकारलाई उत्तरदायी बनाउने तथा उनीहरुका कठिनाई बुझ्ने प्रयास गरेको छ ।
विस्तृत कुराकानी भिडियोमा हेर्नुहोस् :