फायरसाइडमा सीके राउतको खुलासा : प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न गोप्य बैठक नै बोलाएका थिए

फाल्गुन २८, २०८० |कान्तिपुर टीभी संवाददाता
फायरसाइडमा सीके राउतको खुलासा : प्रधानमन्त्री र गृहमन्त्रीले मेयर बालेनलाई पक्राउ गर्न गोप्य बैठक नै बोलाएका थिए

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले गत भदौमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई पक्राउ गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दहाल र तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले तयारी गरेको खुलासा गरेका छन् ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा बोल्दै राउतले गत भदौमा मेयर बालेनले '...सिंहदरबारमा आगो लगाइदिन्छु, याद राख चोर सरकार' भन्ने स्टाटस सामाजिक सञ्जालमा पोस्ट गरेपछि सुरक्षा निकायका प्रमुखहरुलाई राखेर प्रधानमन्त्री र गृहमन्त्रीले पक्राउ गर्ने विषयमा गोप्य छलफल चलाएको खुलासा गरेका हुन् । ‘बडो गोप्य तरिकाले बैठक बसेको थियो । किन हो, एजेन्डा केही थाह छैन, हामी गयौँ,’ राउतले खुलासा गरे, ‘ त्यहाँ प्रधान सेनापति, प्रहरी प्रमुखदेखि लिएर तीनवटै जिल्लाका सीडीओहरू थिए ।’

बैठक बोलाउनुको कारण काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई पक्राउ गर्ने भन्ने विषय रहेको त्यसपछि मात्र थाह पाएको उनले बताए । अध्यक्ष राउतले सुनाए, ‘त्यो दिन मैले पहिलोचोटि ‘रियलाइज’ गरेँ कि लोकतान्त्रिक शक्ति कस्तो हुन्छ र बाम्पन्थी शक्ति कस्तो हुन्छ भनेर ।’

‘त्यो बेला सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई सोध्नु भयो– के गर्ने भनेर,’ राउतले सुनाउँदै गए, ‘मैले भनेँ- कुनै पनि हालतमा उहाँलाई पक्राउ गर्नु हुँदैन भनेर ।’ मेयर बालेन्द्रको उक्त फेसबुक स्टाटसमा आएका प्रतिक्रियाहरू हेर्न आफूले प्रधानमन्त्रीलाई सुझाएको पनि उनले बताए । ‘सवा लाख जति कमेन्ट आएका छन्, कमेन्ट- त्यसमा ९५ प्रतिशतले त सरकारलाई नै गाली गरेका छन्,’ सो कुरा सम्झाउँदै यस्तो अवस्थामा बालनलाई कुनै पनि हालतमा पक्राउ गर्नु हुँदैन भनेर आफूले दाहाललाई सम्झाएको पनि बताए ।

बैठकमा सहभागी हुन गएका कांग्रस सभापति शेरबहादुर देउवाले सो विषयमा अडान लिएको अध्यक्ष राउतले बताए । ‘यस्तो बोलिराख्छन् । लोकतन्त्र हो- बोल्दैमा कहाँ आगो लगाइदिए त ? बोल्न पाउनुपर्छ भन्ने अडान त्यतिबेला उहाँले लिनु भएको थियो,’ राउतले सभापति देउवाले बैठकमा भनेको सुनाए । ‘लोकतान्त्रिक शक्ति र बाम्पन्थी शक्तिमा त्यहाँ फरक देखिन्छ हेर्नुस्,’ राउतले थपे ।

राउतले आफ्नो दल सत्ता गठबन्धनमा सामेल नहुने पनि स्पष्ट पारेका छन् । गठबन्धन दलहरुबाट सरकारमा सहभागी हुन निम्तो आए पनि त्यसका लागि आफूहरु तयार नरहेको राउतको भनाइ छ । 

माथि भिडियोमा हेर्नुहोस् राउतसँग गरिएको विस्तृत कुराकानी :- 

सम्बन्धित समाचार....

काठमाडौं महानगरका मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.