श्रीमती चढेको गाडी ट्राफिकले रोकेपछि मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

भाद्र १७, २०८० |कान्तिपुर टीभी संवाददाता
श्रीमती चढेको गाडी ट्राफिकले रोकेपछि मेयर बालेनले दिए सिंहदरबारमा आगो लगाउने धम्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् ।

श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको आक्रोशमा मेयर शाहले महानगरको कुनै पनि गाडी सरकारबाट रोकिएमा सिंहदरबारमा आगो लगाउने धम्की दिएका हुन् । उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा पनि दिएका छन् ।

शनिबार राति नौ बजेतिर काठमाडौं महानगरपालिकाको सेतो नम्बर प्लेट रहेको गाडीलाई कोटेश्वर ट्राफिकले केहीबेर रोकेर सोधपुछ गरेको थियो । बालकुमारीबाट तीनकुनेतर्फ आउँदै गरेको गाडीलाई ट्राफिक प्रहरीले रोकेपछि उनले त्यसको आक्रोश सामाजिक सञ्जाल फेसबुकमा पोखका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ।’

बिदाको दिन सेतो नम्बर प्लेटको गाडी चलाएको भन्दै ट्राफिक प्रहरीले उक्त गाडी रोकेर अनुमति पत्र मागेको थियो । प्रहरीले सोधखोज गरेपछि उक्त गाडीलाई चिटसमेत नकाटी छाडेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.