मैदानमा खेल राम्रो नभए प्रशिक्षक बर्खास्त हुन्छन् : मोन्टी देसाई

चैत्र ३०, २०७९
मैदानमा खेल राम्रो नभए प्रशिक्षक बर्खास्त हुन्छन् : मोन्टी देसाई

काठमाडौं । पछिल्लो समय नेपाली क्रिकेट टिमले एकपछि अर्को सफलता पाइरहेको छ । यसमा नयाँ प्रशिक्षक मोन्टी देसाईको पनि योगदान नरहने कुरै भएन ।

भारतीय नागरिक देसाई नेपाली क्रिकेटसँग लामो समयदेखि जोडिएका व्यक्ति हुन् । सन् २०१५ को टी-ट्वेन्टी विश्वकप छनोटमा उनले राष्ट्रिय टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरेका थिए ।

मोन्टीले सन २०१९ मा क्यानडा क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

सन् २०१७ मा एसीसी यू-नाइन्टिन एसिया कपमा ब्याटिङ सल्लाहकार रहेका मोन्टीले वेस्टइण्डीज र अफगानिस्तानको ब्याटिङ प्रशिक्षकका रुपमा समेत अनुभव सँगालेका छन् । उनीसँग आइपीएलदेखि टेस्टसम्मको अनुभव छ ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम टफटकमा प्रधाननसम्पादक दिलभुषण पाठकसँगको अन्तरवार्तामा देसाईले नेपाली टिमको सफलताका भित्री रहस्य सुनाए । साथै उनले नेपालमा आफूलाई मन पर्ने परिकार र ठाउँहरु पनि सम्झिए ।

आफ्नो दुई वर्षे कार्यकालमा नेपाली टिमलाई अझ सफल बनाउन सके प्रशिक्षकका रुपमा करार अवधि थपिनेमा देसाई विश्वस्त छन् । उनी भन्छन् 'तपाईं जहाँ पनि जानुस्, यदि खेल मैदानमा राम्रो प्रदर्शन भएन भने सबैभन्दा पहिले प्रशिक्षकलाई नै बर्खास्त गरिन्छ ।विगतमा पनि हामीले यो भोग्दै आएको हो ।यही यथार्थ हो र म यसलाई स्वीकार गर्छु ।अहिले सबै ठीक भइरहेको छ, त्यसैले सबैले राम्रो मानिरहेका छन् ।'

प्रस्तुत छ- टफटकमा देसाईसँगको संयुक्त अन्तर्वार्ताबाट उद्धृत अंश :

क्यानसँग काम गर्न कत्तिको सजिलो भइरहेको छ ? पछिल्लो समय प्रशिक्षक फेरिरहेका छन् । एक वर्षका लागि सम्झौता हो, यो कतिसम्म लम्बिन सक्ने सम्भावना छ ?

तत्कालका लागि हामीले दुई वर्षको सम्झौता गरेका छौं । मलाई के भनिएको थियो भने औपचारिक रुपमा उनीहरु दुई वर्षका लागि मात्रै सम्झौता गर्न सक्छन् । तर, उनीहरुले दुई वर्षपछि पनि समय सीमा बढाउने रुची व्यक्त गरेका छन् । हाम्रो सम्बन्ध कसरी अगाडि बढ्छ र खेल मैदानमा कस्तो प्रदर्शन हुन्छ, दुई वर्षपछि यसले अर्थ राख्नेछ । तपाईं जहाँ पनि जानुस्, यदि खेल मैदानमा राम्रो प्रदर्शन भएन भने सबैभन्दा पहिले प्रशिक्षकलाई नै बर्खास्त गरिन्छ ।विगतमा पनि हामीले यो भोग्दै आएको हो ।यही यथार्थ हो र म यसलाई स्वीकार गर्छु ।अहिले सबै ठीक भइरहेको छ, त्यसैले सबैले राम्रो मानिरहेका छन् ।

तपाईं आउनु केहीअघि मात्र रोहित कप्तान बनेका थिए । उनीसँगको तपाईंको पार्टनरसिप कस्तो भइरहेको छ ? उनले के सिक्न बाँकी छ ? अथवा उनी अहिले नै परिपक्व छन् ?

धेरै राम्रो । हामीले एक-अर्कालाई केही समयदेखि चिनेका हौं । अन्डर-१९ को समयमा पहिलोपटक ऊ र अन्य केही खेलाडीसँग मैले पहिलोपटक कुराकानी गरेको थिएँ । म पहिल्यैदेखि उसलाई मन पराउँथे । मैंले उसलाई एउटा असल सिकारु मान्थें ।

नेपाल र अफगानिस्तानबीच २०१८ मा भएको खेलका समयमा पनि हामी भेटेका थियौं । त्यतिखेर पनि हामीबीच राम्रो कुराकानी भएको थियो। पछिसम्म पनि उसले कसरी प्रगति गरिहेको छ भन्ने कुरामा मेरो चाख थियो । यहाँ आइसकेपछि पनि हामीले सामना गरिहेका चुनौती र कसरी अगाडि बढ्नुपर्छ भन्ने सवालमा उसले स्पष्ट कुरा राखेको थियो । यहाँ आउनुभन्दा पहिले मैले पनि केही पूर्वतयारी गरेर आएको र के आवश्यक छ भन्ने कुरामा प्रस्ट थिएँ । हामी दुवै एक-अर्काप्रति इमान्दार थियौं र दुवै राम्रो साझेदारी गरेर अघि बढ्न सक्षम भयौं ।

के उनी पर्याप्त परिपक्व भइसकेका छन् ?

उनी पर्याप्त परिपक्व भैसकेका छन् भन्ने कुरा त उनले लिएको कठोर निर्णयले नै देखाउँछ ।

जस्तो कि मैले भनें, जब तपाईं कुनै खेलको विश्लेषण गर्नुहुन्छ र यस किसिमको जोडी अथवा रणनीतिले अझ राम्रो गर्न सक्छ भन्ने लाग्छ, उनी जहिले पनि मेरा कुरा सुन्न तयार रहे । हामी त ड्रेसिङ रुममा बसेर कुरा गर्ने न हो, आखिर खेल मैदानमा भिड्ने त खेलाडी नै हो । हामीले कहिल्यै यो पाटोलाई बिर्सन हुन्न ।

मेरा लागि यो १२ खेलमा कथाभित्र थुप्रै कथा रहे । म कुनै एक खेलाडीको मात्रै नाम लिन सक्दिनँ । आरिफ स्वयममा पनि मेरा लागि एउटा कथा हो । फर्स्ट सिरिजमा जब आरिफ स्वस्थ थिएनन्, मैले कठोर निर्णय लिनु पर्यो र उनलाई भन्नु पर्यो कि पर्याप्त तयार नभईकन म तिमीलाई खेलमा लिन सक्दिनँ । उनले यसलाई एकदमै सहज रुपमा स्वीकारे ।स्पष्टरुपमा म के कुरामा सजग छु भने म खेलाडीको करिअरसँग खेल्न सक्दिनँ । रोहित र म दुवै प्रष्ट थियौं कि जब आरिफ पूर्णतः फिट हुन्छन्, तब मात्र उनी प्लेइङ ११ मा पर्छन् ।

खेलाडीको करिअरलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा यहाँ म रोहितको परिपक्वतालाई श्रेय दिन्छु । अन्तिम दिनको खेलमा कस्तो अद्भूत इनिङ आरिफले खेले । थुप्रै खेलाडी पार्टनरसिपमा रहे तर गुलसनका लागि आरिफ एउटा महत्वपूर्ण पार्टनर रहे ।

अहिलेसम्मको नेपाली प्रशिक्षकको यात्रामा तपाईंलाई सबभन्दा उत्कृष्ट के लाग्यो ?

सबैजना आफ्नै प्रकारले उत्कृष्ट छन् । पहिलो खेलमा सन्दीपको त्यो सानो योगदान, जब हामी उच्च स्कोरलाई पछ्याइरहेका थियौं । अनि तिनै सन्दीपले आफ्नो भूमिका व्यवस्थापन गर्न नसकेको अवस्था पनि रह्यो । हामीकहाँ अफफिल्ड अवार्ड्सका लागि भोटिङ गर्ने प्रक्रिया पनि छ । म यसको चर्चा गर्न चाहन्छु । किनकि ह्याप्पी ड्रेसिङ रुम निर्माण गर्ने दिशामा यसले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। अफफिल्ड प्रयासका लागि भीम सार्कीलाई मतदान गर्ने सन्दीप जोरा थिए । हामी खेलाडीबीच यसैप्रकारको घनिष्टता बनाउन चाहन्छौं । भीमले खेलमा जुन प्रदर्शन गरे त्यो अद्भूत थियो ।

मोन्टिजी, तपाईंको योगदान जहिले पनि प्रशंसा गरिनेछ...

धेरै वर्षदेखिको मेरो प्रशिक्षण यात्रामा यो नियमित प्रक्रिया नै हो । जहाँ म सबै प्रकारका चासोबाट टाढा रहन चाहन्छु । खेल मैदानको हेरचाह गर्नेहरुसँग जान्छु र उनीहरुलाई धन्यवाद दिन्छु । उनीहरु बिना खेल सम्भव छैन । अर्को क्रिकेटर जसले प्रशंसकलाई मनोरञ्जन दिन अद्भूत राम्रोसँग खेल्छन् र तेस्रो भनेको ग्राउण्ड्सम्यान हुन् । किनकि खेल मैदान राम्रो नभई खेलाडीले मनोरञ्जन दिन सक्दैनन् । हामीले उनीहरुलाई छुटाउन सक्दैनौं ।

म तपाईसँग नेपालीमा केही सोधौं ?

विस्तारै सोध्न सक्नुहुन्छ र म सायद त्यसलाई बुझ्न सक्छु कि ?

व्यस्त तालिकाले नेपालमा घुम्ने मौका पाउनु त भएको छैन होला, कतै जानु भयो कि ?

चित्लाङ

त्यो त यहीँ नजिकै छ ?

तर, यात्रा चाखलाग्दो थियो । बसको यात्रा अनि संगीत बजिरहेको अवस्था ।

काठमाडौं बाहिर कतै जानुभयो ?

अहँ, अझै जान पाएको छैन । केही महिना मात्रै त भयो म आएको ।

तपाईं आफ्नो काममा अति केन्द्रित हुनुहुन्छ । तर, मनोरञ्जनका लागि थोरै समय पनि निकाल्न भ्याउनुभएको छैन । यसले तपाईंको कार्यसम्पादनमा पनि प्रभाव पार्छ जस्तो लाग्छ...

म तपाईंका कुरामा सहमत छु । तर, नेपाली संगीतको आनन्द लिने सानो अवसर भने पाएको छु है ।

कस्तो संगीत सुन्नुहुन्छ ?

सबै प्रकारको । मानिसहरु मुस्कुराइरहेको देख्दा आफू पनि मुस्कुराउँछु र आफनै ढंगले शरीर हल्लााउँछु ।

खानेकुरा ?

थकाली खाना । म:म सबैभन्दा मनपर्ने परिकार हो ।

सम्पदा क्षेत्रको भ्रमणमा जाने अवसर पाउनुभयो ?

केहीपटक पशुपतिनाथ मन्दिर गएँ । सन्ध्या आरती मलाई निकै मन पर्छ । यसले मलाई नोस्टाल्जिक बनाउँछ । म आफ्नो जीवनलाई समग्रताका रुपमा हेर्छु । त्यहाँ अध्यात्मका लागि पनि सानो ठाउँ छ । म अर्को ठाउँ पनि गएँ सायद स्वयम्भू ।

यो सबैकुरा खेलाडी भावमा अर्थ राख्दछ ?

यो कुराले त जीवन मै अर्थ राख्छ ।

अन्त्यमा, दर्शकहरुलाई तपाई नेपालीमा के भन्न चाहनुहुन्छ ?

माया गरिरहनुस् ।

टफटकको पूरा अन्तर्वार्ता :

अबको बाटो : खेलाडी, प्रशिक्षक र क्यान के भन्छन् ?

थप समाचार...

नेपाली खेलाडीको क्षमता अद्भूत छ : प्रशिक्षक मोन्टी देशाई
मोन्टीको प्रशिक्षणले नेपालको उत्कृष्ट ‘कमब्याक’ (भिडियो रिपोर्ट)
चुनौतीका चाङमा प्रशिक्षक मोन्टी


Enter Kantipur TV HD
Advertisement