चुनौतीका चाङमा प्रशिक्षक मोन्टी

माघ १५, २०७९ |कान्तिपुर टीभी संवाददाता
चुनौतीका चाङमा प्रशिक्षक मोन्टी

काठमाडौं । नव नियुक्त प्रशिक्षक मोन्टी देसाई आजदेखि राष्ट्रिय किक्रेट टिमको प्रशिक्षणमा सामेल भएका छन् । उनको प्रशिक्षणमा नेपालले फागुन २ देखि नामिबिया र स्कटल्याण्डसँग सिरिज खेल्नेछ ।

आईसीसीको मान्यता पाएपछि देसाई हिजो नै काठमाडौं आइपुगेका थिए । दशाइ आइतबार बिहान कीर्तिपुर स्थित टीयू क्रिकेट मैदानमा नेपाली टिमको प्रशिक्षणमा सामेल भएका हुन् । पहिलो दिन उनले कप्तान रोहित पौडेलसँग टिमबारे जानकारी लिँदै खेलाडीलाई नेट अभ्यास गराए । क्यानले फागुन २ गतेदेखि हुने नामिबिया र स्कटल्यान्डसँगको सिरिजका लागि यही साता २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको थियो भने देसाईलाई प्रशिक्षकको जिम्मेवारी दिइएको छ । देसाईको नियुक्तिलाई राष्ट्रिय खेलकुद परिषद्‍ले स्वीकृती भने दिइसकेको छैन । प्रशिक्षक छनोट समितिले देसाईको नाम राखेपमा सिफरिस गरिसकेको छ । राखेपले केही दिनपछि बोर्ड बैठक राखेर प्रशिक्षकको नाम खेलकुद मन्त्रालयमा बुझाएपछि मात्र औपचारिकता पूरा हुनेछ ।

नेपालको क्रिकेट अहिले कठिन परिस्थितिबाट गुज्रिरहेको छ । राष्ट्रिय टिमले राम्रो प्रदर्शन गर्न सकिरहेको छैन । नेपाल टी-ट्वेन्टी लिगमा भएको फिक्सिङको आरोपमा खेलाडी पक्राउ परेपछि झन् चिन्ता थपिएको छ । समस्यै समस्याले गाँजेको पुरुष टिमको नेतृत्व सम्हाल्न भारतका मोन्टी देसाइ आइपुगेका छन् । २४ जना प्रशिक्षकमध्येबाट छानिएका मोन्टीलाई नेपालको ओडीआई मान्यता जोगाउनु मुख्य चुनौती छ ।

मोन्टी, पछिल्लो ३१ महिनामा नेपाली टिमको नेतृत्व पाउने छैटौं प्रशिक्षक हुन् । यसले सिनियर टिममा प्रशिक्षक आउने र जाने क्रम कति छिटो छिटो भइरहेको प्रस्ट देखाउँछ । प्रशिक्षकको कार्यकाल छोटो हुनु अस्थिरताको प्रमाण हो ।

ब्याटिङ : मोन्टीको विशेषज्ञता, नेपाली खेलाडीको कमजोरी

मोन्टीले भारतकै मनोज प्रभाकरलाई प्रतिस्थापन गरेका हुन् । गत साउन २३ गते मुख्य प्रशिक्षकमा नियुक्त प्रभाकरले अपेक्षाकृत नतिजा दिन नसकेपछि क्यानले गत मंसिर २५ गते बर्खास्त गरेको थियो । त्यसपछि रिक्त रहेको पदमा मोन्टीलाई ल्याइएको हो । मोन्टी नेपाली क्रिकेटसँग परिचित छन् । यसअघि उनले २०१४ मा टी- ट्वान्टी विश्वकपमा सिनियर टिमको ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेका थिए । यस्तै २०१७ मा अन्डर नाइन्टिन एसिया कपमा नेपालले भारतमाथि ऐतिहासिक १९ रनको जित हात पार्दा ब्याटिङ प्रशिक्षकमा मोन्टी नै थिए ।

मोन्टी राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेको दोस्रो पटक हो । यसअघि उनले क्यानडाको नेतृत्व लिएका थिए । मोन्टीसँग टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजलाई ब्याटिङ प्रशिक्षण दिएको अनुभव छ । यस्तै इन्डियन प्रिमियर लिगको टिम राजस्थान रोल्यल्स, गुजरात लायन्स, युएई र भारतका विभिन्न स्टेटसँग उनले काम गरेका छन् । मोन्टीले क्यानलाई बुझाएको व्यक्तिगत विवरणमा प्रतिभा पहिचान गर्न सक्ने र आधुनिक अभ्यास शैली अपनाउने क्षमता आफूसँग भएको उल्लेख गरेका छन् ।

ब्याटिङ मोन्टीको विशेषज्ञता र नेपाली खेलाडीको कमजोरी हो । खराब ब्याटिङकै कारण नेपालले धेरै अवसर गुमाएको छ । रन बनाउन नसक्दा नेपाल टी-ट्वान्टी विश्वकपमा छनोट हुन चुकेको थियो । यस्तै विश्व क्रिकेट लिग टू मा पनि २४ खेल खेलिसक्दा जम्मा ८ मा जित हात पारेको नेपाल तालिकाको छैटौं स्थानमा छ । सिधै ओडिआई बचाउने हो भने बाँकी १२ खेलमा ९ जित्नैपर्ने छ । घरेलु मैदानमा फागुन २ गतेदेखि हुने लिगको नामियिबा, स्कटल्यान्ड सिरिज मोन्टीको पहिलो परीक्षा हुनेछ । दुई गुटमा विभाजित राष्ट्रिय टिम, पूर्वप्रशिक्षक प्रभाकरले औल्याएको अनुशासनको विषय र अहिले सतहमा आएको फिक्सिङ प्रकरणले भने लक्ष्य भेटाउन मोन्टीलाई सहज हुने छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.