विश्वकप लिग 'टू'मा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित

कमजोर ब्याटिङका कारण २ सय ६३ रनको लक्ष्य पछ्याएको नेपाल १ सय ५६ मा अलआउट
कार्तिक ९, २०८२ |खेल ब्युरो
विश्वकप लिग 'टू'मा नेपाल अमेरिकासँग १ सय ६ रनले पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग टूमा अमेरिकासँग एक सय ६ रनले पराजित भएको छ। 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई सय ६३ रनको लक्ष्य पछ्याएका नेपाल एक सय ५६ रनमा समेटिएको हो। नेपालविरूद्ध अमेरिकी खेलाडी हरमित सिंहले पाँच विकेट लिएका थिए। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । 

अमेरिकाले ५० ओभरमा २ सय ६२ रनको योगफल बनायो । ओपनर आन्द्रियस गाउस ११ रनमा सोमपाल कामीको बलमा आउट भएका थिए । कप्तान मोनांक पटेल १० रनमा मैदान बाहिरिए । उनको विकेट आरिफ शेखले लिएका हुन् । 

तेस्रो विकेटका लागि भने नेपालले लामो समय कुर्नु पर्यो । समित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । सोमपाल र करण केसीले समितलाई ७५ रनमा रन आउट गर्दै नेपाललाई ब्रेक थ्रु दिलाएका थिए । साइतेजाले ४२ रन बनाए । मिलिन्द कुमारले अविजीत ७० रन जोडेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य प्राप्त गरेको हो । सन्दीप लामिछानेले दुई, दिपेन्द्र सिंह ऐरी, सोमपाल र आरिफले एक-एक विकेट लिए ।

जवाफमा नेपालले औसत सुरुआत गरे पनि पनि ३९ ओभर एक बलमा सबै विकेट गुमाएर एक सय ५६ रन मात्रै बनाउन सक्यो। ओपनर कुशल भुर्तेल डक आउट भए। उनलाई डेब्युटान रुसिल उगारकरले समितबाट क्याचआउट गराएका हुन्। 

त्यसपछि आसिफ शेख र भीम सार्कीले नेपालको इनिङ अगाडि बढाउँदै ६९ रनको साझेदारी गरे। १५औं ओभरमा भीम सार्की २९ रन बनाएर आउट भए। ३९ बलमा ३७ रन बनाएर आशिफ क्याचआउट भए। रोहित २ रनमा आउट भए भने अरिफ शेखले २० रन मात्रै जोड्न सके। 

दिपेन्द्र सिंहले सर्वाधिक ४० रन बनाए पनि नेपाललाई मोमेन्टम दिलाउन सकेनन्। नेपालले चौथो विकेट गुमाउनु अघि रन रेटमा अमेरिकाभन्दा अघि रहे पनि हरमित सिंहले लगातार विकेट लिएपछि उसले कमब्याक गरेको हो। हरमितले ८ ओभर एक बलमा २७ रन मात्रै खर्चिएर ६ विकेट लिए। 

यो जितसँगै २१ खेलबाट ३० अंक बनाएको अमेरिका अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। नेपाल भने १२ अंकसति सातौं स्थानमा कायम छ। नेपालले आगामी मंगलबार यूएईसँग खेल्ने तालिका छ।