
काठमाडौं । स्पेनिस शीर्ष डिभिजनको ला लिगामा आइतबार सिजनकै बहुप्रतिक्षित खेल एल क्लासिको हुँदैछ।
रियल मड्रिड र बार्सिलोनाबीच स्यान्टिआगो बर्नाबेउमा हुने खेल राति नौ बजे सुरू हुने छ। यो दुई सय ६२औं संस्करणको एल क्लासिको हो। जाभि अलन्सोको प्रशिक्षणमा फरक देखिएको रियाल मड्रिडलाई आइतबार लय कायम राख्न चुनौति हुनेछ।
लिगका पछिल्ला नौमध्ये ८ खेलमा लगातार जितको लयसँगै उच्च मनोबल भए पनि बार्सिलोनसँगको पछिल्ला भेटहरू रियालका लागि ठूलो झट्का सावित हुँदै आएका छन्। गत सिजनको चार एल क्लासिकोमा हान्सी फ्लिकको टोलीले सबै खेल जितेको छ।
त्यसैले लस ब्लांकोसलाई यो नतिजामा पूर्णविराम लगाउन दबाब परिसकेको छ। तुलनात्मक रूपमा धेरै गोल गरेको बार्सिलोना सात जितसहित २२ अंक बनाएर लिगको दोस्रो स्थानमा छ। ऊ शीर्षस्थानको रियालभन्दा दुई अंकले मात्रै पछि छ। यदि आइतबार जित हात पारे रियाललाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुग्नेछ।
रियालले जिते उसले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाउने छ। जुन नतिजाले उसलाई लिगका बाँकी खेल सहज बनाउनेछ। रियालका तीन महत्वपूर्ण खेलाडीलाई चोटले सताएको छ। आइतबारको खेलअघि ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, ड्यानी कार्भाजल र हिज हुइजेनलाई एल क्लासिकोका लागि प्रशिक्षकले तयार गरेका छन्।
उनीहरूको कमब्याकले खेलमा प्रभाव पर्न सक्नेछ। डेभिड अल्बा र एन्टोनियो रूडिगर अझै पनि उपचाररत छन्। डानी सेबालोस भने बार्सिलोनाविरूद्ध खेल्ने कि नखेल्ने अनिश्चित छ। अहिले बार्सिलोनका पाँच खेलाडीलाई स्क्वाडमा समावेश हुन नसक्नेगरी चोटग्रस्त छन्।
राफिन्हा र जुल्स कोउन्डे कमब्याकको प्रयासमा रहेका छन्। यद्यपि, फ्रान्की डी जोङ र पेड्रीको उपस्थितिले फि्लकलाई उत्कृष्ट रणनीति निर्माणमा सहयोगी हुनेछ।