काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली राजनीतिक र राजनीतिक दलसँग आबद्ध नेताहरुको बारेमा खुलेरे कुरा गरेका छन् । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम टफटकमा प्रधानसम्पादक दिलभुषण पाठकसँग कुराकानी गर्दै नेता यादवले दलका नेताहरुका बारेमा आफ्नो धारणा खुलाएका हुन् ।
टफटकको र्यापिड फायर सेग्मेन्टमा अध्यक्ष यादवले राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई सम्मानित व्यक्तित्वका रुपमा चित्रण गरेका छन् । उनले पूर्वराष्ट्रपति रामवरण यादवलाई आफ्नो कार्यकालमा धेरै उथलपुथल र चुनौतीकाबीच पनि सफल राष्ट्रपति भनेर प्रशंसा गरेका छन् । तर निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भने अध्यक्ष यादवले विवादित कार्यकालका भए पनि राम्रैसँग बितेको प्रतिक्रिया दिएका छन् ।
यादवले बाबुराम भट्टराईलाई नेता कम बौद्धिक व्यक्तित्व चिनिरहँदा अशोक राईलाई भने जनजातिबाट आएको सुझबुझ भएको नेताका रुपमा चिन्ने गर्छन् ।
प्रस्तुत छ, जसपा अध्यक्ष यादवको नजरमा यस्ता छन् नेपाली नेताहरु :
र्यापिड फायर
मधेसमा तपाईंको प्रतिस्पर्धा को ? नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, लोकतान्त्रिक समाजवादी पार्टी कि जनमत ?
प्रतिस्पर्धी नभए त राजनीति नै हुँदैन । सबै हाम्रा मित्र पनि हुन् सबै हाम्रा प्रतिस्पर्धी हुन् ।
पछिल्लो समयको बलियो प्रतिस्पर्धी को हो ?
अब पछिल्लो समय धेरै ठाउँमा चुनावको हिसाबले हेर्ने हो भने हामो र नेपाली कांग्रेसको बीचमा बढी प्रतिस्पर्धा देखियो । ठाउँ-ठाउँ चुनावको ‘रिजल्ट’ हेर्दा ।
राजनीति सीमित व्यक्तिको स्वार्थ कि जनताको सेवा ?
राजनीति भनेको सेवा नै हो । होइन भने त्यो राजनीति नै होइन ।
कि राजनीति संख्याको जोड घटाउ कि विचार र सिद्धान्त ?
जोड घटाउ भनेको त ‘टेम्पोररी’ कुरा हो । तर मूल कुरा विचार, सिद्धान्त र आदर्श । र लक्ष्य हुन्छ राजनीतिमा ।
जसपाका एजेन्डा क्षेत्रीय कि राष्ट्रिय ?
हाम्रा एजेन्डा सबै राष्ट्रिय हुन् ।
व्यक्तिगत प्राथामितकता संसद्मा पुग्ने कि जनतासँग भिज्ने ?
अब जनताको साथमा रहनेभन्दा अर्को विकल्प के हुन सक्छ र ? जुनसुकै अवस्थामा पनि । हर अवस्थामा जनतासँग ।
जसपाको प्राथामिकता मधेस केन्द्रित दलबीच एकता कि समाजवादी मोर्चा निर्माण ?
अब समाजवादी मोर्चा यो मुलुकलाई धेरै समस्याबाट निकास दिन आवश्यक छ । मधेसी जनताको अधिकार सुनिश्चित गर्न र देशको विकास गर्न मधेसी पार्टी वा मधेसमा आधारित दलहरु छरिएर रहेका छन् ती एक ठाउँमा भए भने त्यसले सहज बनाउँछ ।
टफटकमा उपेन्द्र यादव : खास गठबन्धन चार दलको हो, संसदले अब नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाउँछ
एक शब्दमा
रामचन्द्र पौडेल ?
उहाँ सम्मानित व्यक्तित्व, सम्मानित राष्ट्रपति हुनुहुन्छ ।
रामसहायप्रसाद यादव ?
सम्मानित व्यक्तित्व उहाँ पनि हो । उहाँ सम्माननीय उपराष्ट्रपति हुनुहुन्छ ।
डा. रामवरण यादव ?
रामवरण यादव पनि । उहाँ आफ्नो कार्यकालमा धेरै उथलपुथल र चुनौतीकाबीच सफल राष्ट्रपति बन्नुभयो ।
विद्यादेवी भण्डारी ?
उहाँको कार्यकाल पनि केही-केही पोइन्टमा गएर विवादित रह्यो । तथापि पनि उहाँको कार्यकाल राम्रैसँग बित्यो ।
पुष्पकमल दाहाल ?
पुष्पकमल दाहालजी उहाँचाहिँ के छ भने ‘रेभुलेस्नरी लिडर’ हुन् । उहाँको ‘स्ट्रगल’ गर्ने, ‘अर्गनाइज’ गर्ने क्षमता भएका व्यक्तिका रुपमा हेर्छौं ।
शेरबहादुर देउवा ?
पुराना अनुभवी कांग्रेसका नेता ।
केपी शर्मा ओली ?
उहाँ झन् चतुर नेता हुनुहुन्छ ।
अनि बाबुराम भट्टराई ?
उहाँ नेता कम बौद्धिक व्यक्तित्व ज्यादा हुनुहुन्छ ।
अशोक राई ?
उहाँ पनि एउटा जनजातिबाट आएको सुझबुझ भएका नेता हुनुहुन्छ ।
सीके राउत ?
उनी अहिले ट्रायलमा नै छन् । अस्थिर दिमाखका राजनीतिज्ञ हुनुहुन्छ तर अस्थिरता उहाँको व्याप्त छ ।
महन्थ ठाकुर ?
महन्थ ठाकुर महन्थजी हुनुहुन्छ । महन्थै हो उहाँ त । नामचाहिँ उहाँलाई सबैभन्दा जुरेको हो ।
राजेन्द्र महतो ?
मधेसका नेतामध्येमा उहाँ पनि हो ।
रञ्जिता श्रेष्ठ ?
भर्खर उदाउँदै छिन् । यात्रा अगाडि बढोस् । शुभकामना छ ।
टफटकको पूरा कार्यक्रम हेर्नुहोस् :