
काठमाडौं । सन् २००८ मा राजनीति नगर्ने सर्तमा देश छाडेर बेलायत जानुभएका तारिक रहमानले अन्तत: १८ वर्षपछि फर्केर देशकै नेतृत्व गर्नुभएको छ ।
यससँगै बंगलादेशले ३५ वर्षपछि पहिलो पुरूष प्रधानमन्त्रीसमेत पाएको छ । तारिक रहमान बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुनुहुन्छ । २० नोभेम्बर १९६५ मा जन्मिनु भएका रहमानको राजनीतिक यात्रा सन् १९८८ बाट सुरू भएको भए पनि २००१ को निर्वाचनपछि उहाँ पार्टीमा शक्तिशाली नेताका रूपमा उदाउनुभएको थियो ।
२००१ देखि २००६ सम्म बीएनपीको शासनकालमा उहाँ र उहाँका निकटवर्तीहरूले समानान्तर सत्ता चलाएको र व्यापक भ्रष्टाचार गरेको आरोप लागेको थियो। सन् २००४ मा शेख हसिनाको र्यालीमा भएको ग्रिनेड हमलामा संलग्न भएको आरोपमा सन् २००७ मा पक्राउ गरिनुभएका उहाँलाई तत्कालीन सेनासमर्थित सरकारले ८४ वटा अभियोग लगाउँदै १८ महिनाको जेल सजाय दिएको थियो ।
जेलमा निर्मम यातना दिइएपछि अस्वस्थ हुनुभएका उहाँलाई तत्कालीन सरकारले राजनीति नगर्ने सर्तमा उपचारका लागि बेलायत जाने अनुमति दिएको थियो । २००४ को आक्रमणको फैसला १४ वर्षपछि अर्थात् २०१८ को अक्टुबरमा आयो, जसमा उहाँलाई आजीवन काराबासको सजाय सुनाइयो ।
उहाँमाथि भ्रष्टाचार र वित्तीय अपचलनका कयौं मुद्दा चलाइए । त्यतिखेर उहाँलाई डार्क प्रिन्सको उपमा समेत दिइयो । अवैध सम्पत्तिको मुद्दामा सन् २०२३ मा फैसला हुँदा ९ वर्षको जेल सजाय तोकियो । बीएनपीले सुरूदेखि नै सबै आरोपहरूलाई राजनीतिक प्रतिशोध मात्र भएको बताउँदै आएको छ।
यद्यपि, अवामी लिग सरकारको पतनपछि उहाँमाथि लागेका धेरैजसो मुद्दा खारेज भइसकेका छन् । १७ वर्षलामो निर्वासनपछि उहाँ गत डिसेम्बर २६ मा ढाका फर्किनुभयो । स्वदेश फर्किएको केही दिनमै उहाँकी आमा तथा पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएपछि तारिकले पार्टीको नेतृत्व पूर्णरूपमा सम्हाल्नुभयो र जनवरी ९ मा उहाँलाई औपचारिक रूपमा बीएनपीको अध्यक्ष चुनियो । र, गत बिहीबार भएको मतदानबाट उहाँ बीएनपी नेतृत्वको गठबन्धनले दुई बहुमत ल्याएसँगै तारिक रहमान बंगलादेशको एघारौं प्रधानमन्त्री बन्नुभएको छ ।