इरानसँगको युद्ध अन्त्य हुने मार्को रूबियोकाे संकेत, सिधा वार्ता सम्भव रहेकाे दाबी

चैत्र १८, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
इरानसँगको युद्ध अन्त्य हुने मार्को रूबियोकाे संकेत, सिधा वार्ता सम्भव रहेकाे दाबी

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रूबियोले इरानसँगको युद्ध अन्त्य हुने संकेत देखिएको बताउनुभएको छ ।

फक्स न्युजसँग कुराकानीमा उहाँले इरानसँग कुनै पनि बेला सिधा भेटघाट हुनसक्ने दाबी गर्नुभएको हो । उहाँले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानसँग झुटा वा देखावटी वार्ता नगर्ने पनि स्पष्ट पार्नुभएको छ । यस क्रममा उहाँले नेटोको आलोचना पनि गर्नुभयो । 

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि दुई वा तीन हप्ताभित्र अमेरिका इरान युद्धबाट बाहिरिने संकेत गर्नुभएको थियो । इरानले कुनै हालतमा पनि आणविक हतियार हासिल गर्न नसकोस् भन्ने आफ्नो लक्ष्य पूरा भएको राष्ट्रपति ट्रम्पले स्पष्ट पार्नुभयो । साथै ट्रम्पले इरानका सबै कुरा ध्वस्त पार्न चाहेको उल्लेख गर्दै यसभन्दा पहिले सम्झौता पनि हुन सक्ने पनि बताउनुभयो ।

यसैबीच इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पनि केही सर्त पूरा भएमा अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न आफूहरू तयार रहेको बताउनुभएको छ । इरानको सरकारी सञ्चारमाध्यमले राष्ट्रपति पेजेस्कियानले युरोपेली परिषद्का अध्यक्षसँगको फोन वार्तामा उक्त अभिव्यक्ति दिएको उल्लेख गरेको छ । 

 यसअघि इरानले अमेरिकाको १५-बुँदे शान्ति प्रस्तावको जवाफमा पनि आक्रमण नदोहोरिने ग्यारेन्टी मागेको थियो । गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा हवाई हमला गरेयता युद्ध जारी छ । जसमा परी अहिलेसम्म ४ हजार ५०० भन्दाबढी नागरिक मारिएका छन् ।