
काठमाडौं । नेपालमै सर्वाधिक पुरस्कार राशीको महिला फुटबल प्रतियोगिता चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आगामी वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ ।
प्रतियोगिताका खेलहरु झापाको भद्रपुरस्थित मेची रंगशालामा आयोजना हुने छन् । आयोजक चन्द्रगढी युवा क्लबले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । प्रतियोगिताको विजेता टिमले ११ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
यो नेपाली महिला फुटबलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगितासमेत हो । उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछ । प्रतियोगितामा आयोजक टिमसहित नेपालका तीन विभागीय टोली त्रिभुवन आर्मी एफसी, नेपाल एपीएफ एफसी र नेपाल पुलिस क्लब तथा चर्च ब्वाइज युनाइटेड, संकटा फुटबल क्लब सहभागी हुनेछन् ।
यस्तै, भारतको रानी लक्ष्मीबाई स्पोर्ट्स एकेडेमी, भुटानको थिम्पु सिटी एफसी तथा थप दुई एसियन टिमले प्रतिस्पर्धा गर्ने छन् । हरेक खेलको प्लयर अफ दी म्याचले नगद ११ हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ । प्रतियोगिताका लागि मेची रंगशालाको निर्माण तथा स्तरोन्नित धमाधम भइरहेको छ ।