
काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारलाई आग्रह गरेका छन् ।
व्यवसायीले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेअनुसार भाडा समायोजन गर्न माग गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले विज्ञप्ति जारी गर्दै हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन भइसक्ने तर सार्वजनिक यातायातको हकमा सरकार मौन रहनु विभेदकारी भएको आरोप लगाएको छ ।
यातायात व्यवस्था विभागले चैत ५ गते नै यात्रुवाहकतर्फ ११ दशमलव तीन तीन प्रतिशत, पहाडी मालवाहकतर्फ १४ दशमलव दुई नौ प्रतिशत र तराई मालवाहकतर्फ ८ दशमलव आठ एक प्रतिशत भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरे पनि हालसम्म कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीले हालको मूल्यवृद्धिका कारण दैनिक लाखौं रुपैयाँ घाटामा सेवा सञ्चालन गर्नुपरेको बताएका छन् । महासंघले संघीय तथा सातै प्रदेश सरकारलाई वैज्ञानिक विधिअनुसार यथाशीघ्र भाडा समायोजन गर्न माग गरेको छ । माग पूरा नभए व्यवसायीहरूले आफैं भाडा तोकेर असुल गर्ने चेतावनी समेत दिएका छन् ।