
काठमाडौं । हर्मुज जलमार्ग हुँदै अघि बढ्ने जहाजमाथि दस्तुर लगाउने योजना इरानको संसदीय सुरक्षा समितिले पारित गरेको छ ।
'हर्मुज जलघाँटी व्यवस्थापन योजना' सुरक्षा समितिबाट पारित भएको इरानी सरकारी सञ्चारमाध्यम–आईआरआईबीले जनाएको हो । आईआरआईबीका अनुसार राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यले यो योजना औपचारिक रुपमा पारित भएको घोषणा गरेका हुन् ।
यसमा जलमार्गको सुरक्षा व्यवस्थापन, जहाजको सुरक्षा, वातावरण संरक्षण, आर्थिक व्यवस्थापन र इरानी रियालमा उठाइने दस्तुर समावेश छ । योजनामा अमेरिकी र इजरायली जहाजहरुलाई जलमार्ग हुँदै जान प्रतिबन्ध लगाइएको छ । यसमा इरान र यसको सैन्य दस्ताको सार्वभौम अधिकार रहेको योजनामा उल्लेख छ ।
जलमार्गको व्यवस्थापनका लागि कानुनी अवधारणा तयार गर्न ओमानसँग समन्वय गरिने उल्लेख छ । हर्मुजको उत्तरतर्फ इरान र दक्षिणतर्फ ओमानको भूभाग पर्छ । पश्चिम एसियामा जारी युद्धबीच यो योजना पारित भएको हो । ३२ दिनयता इरानले अमेरिका–इजरायलविरुद्ध लडिरहेको छ ।
त्यसक्रममा हर्मुजमा इरानको रिमोलुसनरी गार्ड्सले अवरोध सिर्जना गरिरहेको छ । हर्मुज अवरोधले विश्वको झन्डै २० प्रतिशत कच्चा तेल बाहिरिन पाएको छैन । एसियाली तथा युरोपेली देशहरुले हर्मुजको जलघाँटी निर्वाध आवागमन सुनिश्चित हुन पाउनुपर्ने माग गरिरहेका छन् ।