
काठमाडौँ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानी ऊर्जा केन्द्रहरूमा गर्ने भनिएको आक्रमणलाई पछि सार्नुभएको छ । वार्ता राम्रै चलिरहेकाले इरानी सरकारकै आग्रहमा १० दिनका लागि आक्रमणको योजना पछि सारिएको उहाँले उल्लेख गर्नुभएको हो ।
योसँगै इरानी ऊर्जा केन्द्रहरूमा हमला गर्ने ट्रम्पको स्वघोषणा अप्रिल ६ सम्मलाई स्थगित भएको छ । इरानलाई होर्मुज समुद्रीमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याउन दबाब दिइरहेका बेला ट्रम्पले यस्तो घोषणा गर्नुभएको हो ।
यसअघि गत आइतबार ट्रम्पले होर्मुज मार्ग ४८ घण्टाभित्र नखोले ऊर्जा केन्द्रहरू ध्वस्त पार्ने भन्दै इरानलाई चेतावनी दिनुभएको थियो । तर सोमबार भने वार्ता फलदायी भइरहेकाले यो अवधि पाँच दिन थप्नुभएको थियो ।
यता वार्ताकै बीच इरानको राजधानी तेहरान आसपास भने विस्फोटका आवाज आइरहेका छन् ।