
काठमाडौं । दोस्रो संस्करणको नेपाल कबड्डी लिग-एनकेएलमा सहभागी टिमका लागि रियालिटी शो नेपहपको श्रीपेचका प्रतिस्पर्धीहरूले एन्थम सिर्जना गर्ने भएका छन् ।
शुक्रबार एक कार्यक्रमबीच एनकेएल सिजन २ र नेपलहपको श्रीपेच सिजन ३ ले सहकार्यका लागि सम्झौता गरेका छन् । सम्झौता पत्रमा एस्ट्रोनिक्सका सीईओ विकास अग्रवाल र नेपहपको श्रीपेचका संस्थापक सुदीप पोखरेलले हस्ताक्षर गरे ।
सम्झौता अनुसार नेपहपको श्रीपेचका प्रतिस्पर्धी र्यापरहरूले प्रतिस्पर्धाको आधारमा एनकेएलका ६ टिमका लागि फरक एन्थम बनाउने छन् । छनोट भएका एन्थम सिर्जना गर्ने प्रतिस्पर्धीहरुले जनही ५० हजार रूपैयाँ पाउनेछन् । नेपहपको श्रीपेचले शीर्ष ३० को छनोटपछि दुई एपिसोड एनकेएल थिममा तयार गर्नेछ ।
एनकेएल सिजन २ आगामी जेठ २२ गतेदेखि दशरथ रंगशालास्थित राखेप कभर्ड हल, त्रिपुरेश्वरमा सुरु हुँदैछ । लिगमा नेपालका विभिन्न ६ सहरका ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि १६ देशका १ सयभन्द बढी विदेशी खेलाडीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । एनकेएल सिजन २ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुनेछ ।