
काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले इरानको तेल लिने तयारी गरेको बताउनुभएको छ ।
आइतबार फाइनान्सियल टाइम्सलाई अन्तर्वार्ता दिँदै राष्ट्पति ट्रम्पले इरानस्थित खार्ग टापुको निर्यात केन्द्र कब्जा गर्न सक्ने चेतावनीसमेत दिनुभएको छ । ट्रम्पले भेनेजुएला जसरी नै इरानको तेलमा अनिश्चितकालका लागि अमेरिकाले नियन्त्रण जमाउन सक्ने चेतावनी दिनुभएको हो ।
यसअघि जनवरीमा भेनेजुएलाका नेता निकोलास मदूरोलाई पक्राउ गरेर अमेरिका लगेपछि ट्रम्पले भेनेजुएलामा रहेका तेल खानी अमेरिकाले सञ्चालन गर्ने घोषणा गर्नुभएको थियो । उहाँले तेल व्यापारबाट आएको रकम अमेरिका र भेनेजुएलाले मिलेर उपयोग गर्ने पनि बताउनुभएको थियो ।
गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानमा आक्रमण गरेका थिए । जसकारण पछिल्लो एक महिना कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । साेमबार बिहान एसियामा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल एक सय १६ डलरभन्दा माथि पुगेको छ । पश्चिम एसियामा अमेरिकी सेनालाई बलियो बनाउँदै खार्ग टापुमा आक्रमण गर्ने लक्ष्यसहित १० हजार सेना तैनाथ गर्ने विषयमा छलफल भइरहेको अधिकारीहरुले बताएका छन् ।