एन्फा-राखेप विवाद : राष्ट्रिय महिला फुटबल टोलीकाे विश्वकप यात्रा कसरी सम्भव होला ?

चैत्र २०, २०८२ |खेल ब्युरो
एन्फा-राखेप विवाद : राष्ट्रिय महिला फुटबल टोलीकाे विश्वकप यात्रा कसरी सम्भव होला ?

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सन् २०३१ को विश्वकप खेल्ने लक्ष्य लिएको छ । 

स्वाभाविक हो, यो लक्ष्य पूरा गर्न खेलाडीले नियमित ‘अन्तर्राष्ट्रिय एक्सपोजर’ पाउनुपर्छ । तर, अखिल नेपाल फुटबल संघ-एन्फा र राष्ट्रिय खेलकुद परिषद्‌‌-राखेपबीचको विवादकै कारण थाइल्यान्डमा हुने ऐतिहासिक 'फिफा सिरिज २०२६' मा सहभागी हुन ठिक्क परेको नेपाली टोली यो अवसरबाट वञ्चित भएको छ । 

खेलाडीको अधिकार खोस्ने र राष्ट्रको गरिमा झुकाउने यो अवस्था किन आयो ? अखिल नेपाल फुटबल संघ-एन्फा निलम्बन भएकै अवस्थामा राष्ट्रिय पुरुष फुटबल टोली एएफसी एसियन कप छनोट खेल्न मंगलबार सुटुक्क लाओस पुगेको थियो । विडम्बना, महिला टोलीलाई भने प्रशासनिक कारण देखाउँदै थाइल्यान्डमा हुन लागेको फिफा सिरिजमा जान दिइएन । 

जुन प्रशासनिक कारण भने एन्फा र राष्ट्रिय खेलकुद परिषद्‌ राखेपबीचको किचलो हो । फुटबल गतिविधि गर्न नसक्ने तर अर्ली इलेक्सनमा जानैपर्ने एन्फको ढिपी र निर्वाचन रोक्ने राखेपको अडानको बीचमा खेलाडी पिल्सिएका हुन् । खेल्ने अवसर खोसिँदा खेलाडीहरू एन्फाप्रति निकै क्रुद्ध भएका छन् । 

कप्तान अन्जिला तुम्बापो सुब्बाले त सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि र पीडासमेत पोखिसकेकी छन् । यता राखेपले एन्फालाई निलम्बन त गर्‍यो तर त्यसपछिको मार्गप्रशस्त गर्न भने सकेन । बरू निलम्बनलाई कारण देखाउँदै एन्फाले फिफा सिरिजबाट टिमलाई वञ्चित गरिदियो । 

यी सबै घटनाक्रमको पछाडिको खेल भने अर्कै रहेको बताइन्छ । एन्फा निलम्बित हुँदैमा टोलीले अन्तर्राष्ट्रिय सहभागिता जनाउनै नपाउने होइन । बरू यही बहानामा फिफाले वर्तमान कार्यसमितिलाई प्रतिबन्ध लगाओस् र त्यसको सम्पूर्ण दोष राखेपको कथित हस्तक्षेपलाई दिन पाइयोस् भन्ने एन्फाको दाउ रहेको राखेप सदस्यसचिवको आरोप छ ।

एन्फाले सन् २०३१ को महिला फिफा विश्वकपमा नेपाललाई पुर्‍याउने लक्ष्य लिएको छ । तर, अन्तर्राष्ट्रिय खेल खेल्नै वञ्चित गराएर राजनीतिक दाउपेचका बीच विश्वकपको यात्रा कसरी सम्भव होला ? एक महिनायता नेपाली फुटबलले अनेकौँ उथलपुथल देखेको छ । 

खेलाडी तथा क्लब आन्दोलन, 'ए' डिभीजन लिगको अनिश्चय र मिति तय, एन्फा तालाबन्दी, राखेप-एन्फाको युद्ध, एन्फाको निर्वाचनमा जाने निर्णय, राष्ट्रिय लिग स्थगितजस्ता अनेक घटनाक्रम भए । यी सबै अव्यव्थाका बीच नेपाली फुटबल अहिले यस्तो मोडमा आइपुगेको छ, जहाँ मैदानको प्रतिस्पर्धाभन्दा पदाधिकारीको दाउपेच बलियो देखिन्छ । 

अझ नेपाली महिला टोली त एकपटक फेरि विपक्षीसँग होइन, फुटबल प्रशासनको आन्तरिक कलहसँग पराजित भएको छ ।