काठमाडौं । बंगलादेशमा आरक्षणको विरोधमा सुरु भएको हिंसात्मक प्रदर्शन चर्कँदै गएपछि विभिन्न मुलुकले त्यहाँ अध्ययनरत आफ्ना नागरिकको उद्धार थालेका छन् ।
भारतीय विदेश मन्त्रालयले बंगलादेशबाट ९७८ विद्यार्थी हवाई तथा स्थलमार्गमार्फत फिर्ता भइसकेको जनाएको छ । ढाकास्थित भारतीय उच्चायोग र चटगाउँ, राजशाही, सिलहट र खुल्नामा रहेका उप-उच्चायोगको सहयोगमार्फत उनीहरुलाई फिर्ता गराइएको जनाएको छ ।
यस्तै, अन्य चार हजार विद्यार्थीसँग पनि सम्पर्कमा रहेको पनि विदेश मन्त्रालयले जनाएको छ । भारतमा सात हजार भारतीय विद्यार्थी रहेको जनाइएको छ । मन्त्रालयले नेपाली र भुटानी विद्यार्थी पनि उनीहरुको अनुरोधमा स्वदेश फिर्ता हुन सहयोग गरिरहेको पनि जानकारी दिएको छ ।
यस्तै, भुटानी विदेशमन्त्री डीएन ढुंग्यालले बंगलादेशबाट १८ विद्यार्थी सडकमार्गमार्फत फर्किसकेको जनाउनुभएको छ । अन्य चार विद्यार्थी भने भारतीय सहयोगमा फर्कंदै गरेको उहाँको भनाइ छ । बंगलादेशमा २५७ भुटानी विद्यार्थी अध्ययनरत छन् ।
नेपालको परराष्ट्र मन्त्रायलयले भने यो समाचार तयार पार्दासम्म नेपाली विद्यार्थीको पछिल्लो स्थितिबारे कुनै जानकारी दिएको छ । मन्त्रालयले हिजो (शुक्रबार) विज्ञप्ति जारी गर्दै सबै विद्यार्थी सुरक्षित रहेको जनाएको थियो । बंगलादेशमा शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ । प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।
एपी समाचार समितिका अनुसार सेनालाई कर्फ्युको अवज्ञा गर्नेहरुलाई गोली हान्ने अधिकारसम्म दिइएको छ । हिंसात्मक प्रदर्शनका क्रममा शनिबारसम्म एक सय चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । देशभर फोन तथा इन्टरनेट सेवा बन्द गरिएका छन् भने एक समूहले बंगलादेशको केन्द्रीय बैंक, प्रधानमन्त्री कार्यालय र प्रहरीको वेबसाइटसमेत ह्याक गरेको छ ।
सरकारले प्रदर्शनकारी विद्यार्थीहरुलाई वार्ताका लागि आह्वान गरे पनि उनीहरुले त्यसलाई अस्वीकार गरेका छन् ।