बंगलादेशमा आरक्षणविरोधी प्रदर्शन थप हिंसात्मक, देशभर उच्च सुरक्षा सावधानी

झडपमा ३९ जनाको मृत्यु, देशैभरका इन्टरनेट सेवा ठप्प
विभिन्न सरकारी कार्यालय, राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयमा आगाजनी
श्रावण ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बंगलादेशमा आरक्षणविरोधी प्रदर्शन थप हिंसात्मक, देशभर उच्च सुरक्षा सावधानी

काठमाडौं । बंगलादेशमा आरक्षणविरोधी प्रदर्शन थप हिंसात्मक बन्दै गएपछि देशभर उच्च सुरक्षा सावधानी जारी गरिएको छ ।

प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच भएको हिंसात्मक झडपमा अहिलेसम्म ३९ जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनको क्रममा कैयौं व्यक्ति घाइते भएको जनाइएको छ ।

आज प्रदर्शनकारीले बंगलादेशका विभिन्न सरकारी कार्यालय, राष्ट्रिय विपद् व्यवस्थापन कार्यालयमा आगाजनी गरेको छ । त्यसैगरी हिजो (बिहीबार) प्रदर्शनकारीले सरकारी टेलिभिजन बीटीभीको कार्यालयमा आक्रमण गरी आगजनी गरेका थिए । प्रदर्शनकारी आगजनी गरेपछि उक्त टिभीले प्रशारणसमेत गर्न सकेको छैन ।

केही मिडिया आउटलेटको कार्यालयमा क्षति पुगेको कारण उनीहरुले आफ्नो सामाचारसमेत अपडेट गर्न सकेको छैन । त्यसैगरी देशभरका इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

सरकारले प्रदर्शनकारी विद्यार्थीहरुलाई वार्ताका लागि आह्वान गरे पनि उनीहरुले त्यसलाई अस्वीकार गरेका छन् । वार्ता गर्न अस्वीकार गरेपछि त्यहाँ अन्दोलन र हिंसा बढ्दै गएको छ ।

अन्दोलन चर्किएपछि ढाकास्थित नेपाली दूतावासले सुरक्षित रहन सबै नेपाली विद्यार्थीलाई आग्रह गरेको छ । दूतावासले सूचना जारी गर्दै अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रधानमन्त्री सेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रदर्शनाकारीलाई अदालतको निर्णय नआएसम्म धैर्य गर्न आग्रह गरेपछि प्रदर्शनकारीले आन्दोलनलाई थप निरन्तरता र हिंसात्मक बनाएको हो ।

प्रदर्शन चर्कंदै जाँदा बंगलादेशको शिक्षा मन्त्रालयले बुधबारदेखि सबै सरकारी तथा निजी विश्वविद्यालयलाई अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ । स्वन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा गरिएको ३० प्रतिशत आरक्षणको व्यवस्था खारेज गर्न माग गर्दै विद्यार्थीहरुले केही दिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् ।

यो पनि...

बंगलादेशमा किन भइरहेछ हिंसात्मक प्रदर्शन ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.