भारत-पाकिस्तान द्वन्द्वले पूर्ण युद्धको रूप लिने खतरा

वैशाख २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारत-पाकिस्तान द्वन्द्वले पूर्ण युद्धको रूप लिने खतरा

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा हवाई हमला सुरु गरेपछि दुई देशबीचको तनाव चरम उत्कर्षमा पुगेको छ । पाकिस्तानले उचित समय र स्थानमा यसको जवाफ दिने चेतावनी दिएको छ । परमाणु हतियार सम्पन्न यी दुई देशबीचको द्वन्द्वले पूर्ण युद्धको रूप लिन सक्ने खतरा बढाएको छ ।

भारतले आतंककारी समूहका ९ वटा स्ठान लक्षित आक्रमण गरेको तर पाकिस्तानी सेनालाई कुनै लक्षित नगरिएको दाबी गरेको छ । उता पाकिस्तानले भने भारतले ६ स्थानमा हवाई आक्रमण गरेको र उक्त आक्रमणमा कम्तीमा २६ जना सर्वसाधारण मारिएको र अन्य ४६ जना घाइते भएको जनाएको छ । भारतीय सञ्चारमाध्यमले भने यो आक्रमणमा ७० भन्दा बढी आतंककारी मारिएको र अन्य ६० जना घाइते भएको दाबी गरेका छन् ।

भारतीय सेनाका ५ वटा लडाकु जेटलाई खसालेको दाबी पाकिस्तानी सेनाले गरेको छ । यता स्थानीय सरकारको स्रोतलाई उल्लेख गर्दै रोयटर्सले भारत नियन्त्रित कश्मीरमा तीन वटा लडाकु जेट दुर्घटनाग्रस्त भएको जनाएको छ । भारतले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । ‘अपरेशन सिन्दूर’ नाम दिइएको भारतको उक्त कारबाही स्थानीय समयअनुसार गए राति १ बजेर ५ मिनेटदेखि १ बजेर ३० मिनेट अर्थात् २५ मिनेटसम्म चलेको भारतीय सेनाले जनाएको छ । स्थल, जल तथा हवाई सेनाले संयुक्त रूपमा उक्त कारबाही गरेको र यस अन्तर्गत ९ वटा स्थानमा २४ वटा क्षेप्यास्त्र प्रहार गरिएको भारतीय सेनाले जनाएको छ । 

आक्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिश्रीले २६ जनाको ज्यान लिने गरी अप्रिल २२ मा पहलगाममा भएको आतंककारी आक्रमणको जवाफमा पाकिस्तानमा आधारित आतंककारी समूहमाथि कारबाही गरिएको बताउनुभएको छ । पाकिस्तान आधारित आतंककारी समूहहरू लस्कर–ए-तैबा र जैश-ए-मोहम्मद सम्बद्ध ठेगानाहरूमा आक्रमण गरिएको भारतको दाबी छ । उता पाकिस्तानले भने मस्जिद र विद्यालयलाई लक्षित गरिएको जनाएको छ । 

यसैबीच पाकिस्तानी सेनाले नियन्त्रण रेखा लाइन अफ कन्ट्रोल नजिकै सीमापारिबाट गरेको गोली प्रहारबाट भारत नियन्त्रित कश्मीरतर्फ कम्तीमा १० सर्वसाधारण मारिएको र अन्य ४६ जना घाइते भएको भारतीय सेनाले जनाएको छ ।

यसैबीच पाकिस्तानमा प्रधानमन्त्री शहबाज शरिफको अध्यक्षता बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको ठाडो अतिक्रमण भन्दै भारतीय आक्रमणको भर्त्सना गर्नुका साथै यसलाई युद्धात्मक कार्य घोषणा गरेको छ ।

भारतले पाकिस्तानमाथि गरेको हमलाप्रति विश्वस्तरमा चिन्ता र चासो व्यक्त गरिएका छन् ।