पाकिस्तानले सीमारेखा क्षेत्रमा बमबारी गरिरहेको भारतको दाबी, दुवै देश उच्च सुरक्षा सतर्कताको रणनीतिमा

दुवै पक्षले संयमत अपनाउने अमेरिकी विश्वास
वैशाख २५, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तानले सीमारेखा क्षेत्रमा बमबारी गरिरहेको भारतको दाबी, दुवै देश उच्च सुरक्षा सतर्कताको रणनीतिमा

काठमाडौं । भारत र पाकिस्तानबीच बढेको तनाबसँगै दुबै देश उच्च सर्तकताको रणनीतिमा छन । पाकिस्तानले जवाफी कारबाही जारी राखेको दावी गर्दै भारतले वायु, समुद्र र स्थलमा उच्च सतर्कताको रणनीति अपनाएको हो ।

जम्मू-कश्मीरको सीमा रेखा नजिकैको अग्रिम गाउँमा पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईको हवाला दिँदै टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ । 

पाकिस्तानले जवाफी कारवाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै तीन तिरैबाट उच्च सतर्कता अपनाउनु परेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । उता, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाममा भएको हत्यापछि पाकिस्तानलाई भारतीय आक्रमणको जवाफ दिएको प्रतिक्रिया दिनुभएको छ ।

यसैबीच भारत पाकिस्तान तनाव बढेसँगै अन्तराष्ट्रिय चासो बढेको छ । अमेरिकाले भारत पाकिस्तानलाई नजिकबाट हेरिरहेको र दुबै पक्षसँग सम्पर्कमा रहेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले दुबै देशले संयम अपनाउनेमा अमेरिका विश्वस्त रहेको बताए ।

उता, भारतले पाकिस्तानमाथि गरेको सैन्य आक्रमणमा उग्रवादी समूह जैस-ए-मोहम्मदका संस्थापक तथा कमाण्डर मसूद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन । 

पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भारतले गरेको आक्रमणमा उनीहरूको ज्यान गएको हो । जैस-ए-मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्घाती बम विष्फोटमा ४० सैनिकको ज्यान गएको थियो ।