काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-४, छापगाउँ क्षेत्रमा दुर्लभ वन्यजन्तु बाघको छाला, दाँत र जुँगा अवैध रूपमा ओसारपसार गरिरहेको सूचनाको आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाजिम्पाट काठमाडौँबाट खटिएको प्रहरी टोलीले बाँसघारी चोकबाट धुलिखेलतर्फ आइरहेको बेला शंकास्पद रूपमा झोला बोकी हिँडिरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
झोलाको तलासी लिंदा बाघको छाला, दाँत र जुँगा फेला परेपछि उक्त व्यक्ति पक्राउ गरी आवश्यक अनुसन्धानको लागि सम्बन्धित कार्यालयमा बुझाइएको छ।
घटनापछि प्रहरीले अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान अघि बढाएको छ। वन्यजन्तु संरक्षण ऐनअनुसार बाघजस्ता संरक्षित जनावरको अंगको कारोबार कानूनी अपराध मानिन्छ र दोषी प्रमाणित भएमा कडा सजायको प्रावधान रहेको छ।
यस घटनाले दुर्लभ वन्यजन्तुको ओसारपसारमा संलग्न गिरोहको सक्रियता देखाएको छ भने सम्बन्धित निकायलाई सतर्क बनाएको छ।