काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र हङकङबीचको खेल सुरू हुन सकेको छैन ।
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्ड बैंकक, थाइल्याण्डमा हिजो राति परेको पानीको कारण आउट फिल्ड भिजेको छ । सोही कारण अहिले सम्म टस समेत हुन सकेको छैन । पूर्व निर्धारित समय अनुसार खेल नेपाली समय अनुसार बिहान सवा ८ बजे सुरू हुनु पर्ने थियो ।
टी-२० आईको पछिल्लो पाँच भेटमा नेपालले हङकङलाई २ खेलमा हराउँदा हङकङ पनि समान खेलमा नै विजयी भएको छ । एक खेल भने वर्षाका कारण रद्द भएको थियो।
कुल ९ राष्ट्र सहभागी छनोटमा हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेल्नेछन । त्यसपछि प्रत्येक समूहको शीर्ष टोलीले 'सुपर थ्री' चरणमा स्थान बनाउनेछ । सुपर थ्रीमा पुगेका तीन टोलीमध्ये शीर्ष दुई टोलीले महिला टी-२० विश्वकप २०२६ को ग्लोबल छनोटमा स्थान बनाउने छन ।
ग्लोबल छनोटमा विश्वका विभिन्न क्षेत्रीय छनोट पार गरेका आठ टोलीसहित सन् २०२४ को प्रदर्शनका आधारमा सिधै छनोट भएका बंगलादेश र स्कटल्यान्ड गरी १० टोली रहनेछन ।
हालसम्म अमेरिकाले अमेरिका क्षेत्रबाट ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ । ग्लोबल छनोटमा उत्कृष्ट चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने महिला टी-२० विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछन ।
शनिबार बहराइन र मंगलबार पुनः हङकङसँग प्रतिस्पर्धा गर्ने नेपालले जेठ १ गते बहराइनसँग खेल्ने छ । जारी प्रतियोगितामा कप्तान इन्दू बर्मा, उपकप्तान पूजा महतो, अनुभवी खेलाडी रुविना क्षेत्री र बिन्दु रावलको प्रदर्शन महत्वपूर्ण मानिएको छ । नेपाल यो अभियानमा अनुभवी खेलाडी सिता राना मगरलाई भने विश्राम दिइएको छ ।