भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या २६ पुग्यो, ४६ जना घाइते

वैशाख २४, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या २६ पुग्यो, ४६ जना घाइते

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा गरेको हवाइ आक्रमणमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । भारतीय आक्रमणमा परी ४६ जना घाइते भएको पाकिस्तानले जनाएको छ । यता,  नियन्त्रण रेखा क्षेत्रमा पाकिस्तानी सेनाले सीमापारिबाट गरेको गोलाबारीबाट कश्मिरको पुन्च जिल्लामा १० जना सर्वसाधारण मारिएको भारतीय सेनाले जनाएको छ ।

भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मिरमा ‘अपरेशन सिन्दूर’ नाम दिएर हवाइ हमला गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा सुरु गरिएको अपरेशन सिन्दुरले अतिवादीको आश्रयस्थल मानिएका ९ स्थानमा आक्रमण गरेको हो । 

भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए–मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरु छनोट गरेको जनाएको छ । यो आक्रमणबारे अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रुसलाई समेत जानकारी दिइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

‘अपरेशन सिन्दूर’का कारण भारतीय हवाई उडानहरु अस्तव्यस्त भएका छन् । इंडिगो एयरलाइन्सले उत्तरी भारतको आकाशको हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसका अनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बिकानेरबाट आउने-जाने सबै उडान प्रभावित भएका छन् ।

भारतका ५ वटा फाइटर जेट र एउटा ड्रोन खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ भने भारतीय आक्रमणका कारण पाकिस्तानको राजधानी इस्लामावाद र पञ्जाव प्रान्तका सबै शैक्षिक संस्था बन्द गरिएका छन् ।

यसैबीच, भारत र पाकिस्तानलाई संयम रहन संयुक्त राष्ट्रसंघले अपील गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेसलाई उदृत गर्दै नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टीका भारतीय सैन्य कारबाहीहरुप्रति चिन्तित रहेको बताउनुभएको छ । 

यता, भारतले पाकिस्तानमाथि गरेको हवाइ आक्रमणलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले 'दुखद' भन्दै भारत–पाकिस्तानबीचको दशकौंदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरि, छिमेकी मुलुक चीनले भारतले पाकिस्तानमा गरेको आक्रमणलाई 'खेदजनक' भन्दै प्रतिक्रिया दिएको छ ।

कश्मिरको पहलगाममा भएको आतंकवादी घटनाको बदलास्वरूप भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित काश्मिरमा आक्रमण गरेको हो ।