काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा गरेको हवाई हमलामा दुई बालकसहित ८ जना नागरिकको मृत्यु भएको पाकिस्तानी विदेश मन्त्री मुहम्मद इशाक दारले बताउनुभएको छ । आक्रमण परी कम्तीमा ३५ जना घाइते भएको पाकिस्तानी विदेश मन्त्री दारले बताउनुभएको बीबीसीले जनाएको छ ।
भारतले गएराति पाकिस्तान र पाकिस्तन प्रशासित कश्मिरको विभिन्न नौं स्थानमा हवाई आक्रमण गरेको हो ।
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा ‘अपरेशन सिन्दूर’ नाम दिएर हवाई हमला गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा सुरू गरिएको अपरेशन सिन्दुरले अतिवादीको आश्रयस्थल मानिएका नौं स्थानमा आक्रमण गरेको हो ।
भारतीय सेनाले अतिवादी गतिविधि गरेको आरोपमा जैश ए-मोहम्मद र लश्करका शीर्ष नेतृत्व रहेका क्षेत्रलाई निशाना बनाएको र आक्रमणका लागि तिनै क्षेत्रहरू छनोट गरेको हो । यो आक्रमणबारे भारतले अमेरिका, बेलायत, साउदी अरेबिया, युएई र रूसलाई जानकारी दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
‘अपरेशन सिन्दूर’का कारण भारतीय हवाई उडानहरू अस्तव्यस्त भएका छन । इंडिगो एयरलाइन्सले उत्तरी भारतको आकाशमा हवाई क्षेत्रमा आएको परिवर्तनका कारण कयौं उडान प्रभावित भएको बताएको छ । उसकाअनुसार श्रीनगर, जम्मू, अमृतसर, लेह, चण्डीगढ, धर्मशाला र बीकानेरबाट आउने जाने सबै उडानहरू डिले गरिएको छ ।
यसैबीच भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणबारे अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले प्रतिक्रिया जनाउनु भएको छ । उहाँले घटनालाई लाजमर्दो भन्दै भारत-पाकिस्तानबीचको दशकौँदेखि चलिरहेको विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ ।
१५ दिनअघि पहलगाममा भएको आतंकवादी घटनाको बदलास्वरूप भारतले पाकिस्तान र पाकिस्तान प्रशासित काश्मिरमा आक्रमण गरेको हो । उक्त आक्रमणमा एक नेपालीसहित २ट जनाको मृत्यु भएको थियो । पाकिस्तानले भारतद्वारा गरिएको कायरता पुर्वक आक्रमणको जवाफ दिने बताएको छ ।
यसैबीच पाकिस्तानी सेना गरेको आक्रमणमा तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनालाई उद्दृत गर्दै रोटयर्सले उल्लेख गरेको छ । यस्तै भारत र पाकिस्तानबीचको द्वन्द्व चर्किँदै गएपछि पाकिस्तानले इस्लामाबादस्थित विद्ययाल बन्द गरिदिएको छ भने कश्मिर क्षेत्रका केहि विद्यालय समेत बन्द भएको बीबीसी हिन्दीले जनाएको छ ।