काठमाडौं । भारत र पाकिस्तानबीच द्वन्द्व चर्किँदै जाँदा मिसाइल र रकेट आक्रमण हुन थालेको छ। भारतले जम्मु,पठानकोट र उधमपुरमा पाकिस्तानले आक्रमण गरेको र विमानस्थल क्षेत्रमा समेत विष्फोट भएको जनाएको छ ।
पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरी आफ्ना तीनवटा सैन्य आधार शिविरमा आक्रमण गरेको आरोप भारतले लगाएको छ। तर, पाकिस्तानले भने हमला नगरेको दाबी गरेको छ ।
द्वन्द्व बढ्दै जाँदा बिहिबार मध्यरातिसम्म पाकिस्तानतर्फ ३१ जनाको र भारततर्फ १६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन ।
भारत प्रशासित कश्मिरको जम्मू र उधमपुर तथा भारतको पञ्जाब राज्यको पठानकोटमा रहेका आफ्ना आधार शिविरहरूमा पाकिस्तानले गरेको आक्रमणको प्रयासलाई विफल पारेको दाबी भारतले गरेको छ ।
बिहीबार साँझ भारत प्रशासित कश्मिको जम्मू सहरमा विस्फोट भएपछि त्यस क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ।
पाकिस्तानले अहिलेसम्म भारतीय पक्षले प्रहार गरेका २५ वटा ड्रोन खसालेको दाबी गरेको छ भने भारतले पाकिस्तानबाट गरिएका हमलाको हवाई प्रतिरक्षा प्रणालीद्वारा निस्कृय पारेको जनाएको छ ।
भारतले दुई दर्जन विमानस्थलमा नागरिकका लागि सेवा बन्द गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । सुरक्षा सतर्कता दुबै देशले बढाएका छ । सिमा क्षेत्रमा बासिन्दामा युद्दको त्रास बढेको छ ।
दुई पक्षीय द्वन्द्व बढ्दै जाँदा विश्व समुदायले थप संयम हुन अपिल गरेका छन । अमेरिकाले स्थिति थप चर्कन नदिन र संयम अपनाउन आग्रह गरेको छ । पत्रकार सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले युद्दले समस्याको समाधान नहुने भन्दै एक-अर्कामाथिको आक्रमण बन्द गर्नुपर्ने बताउनुभएको हो।
कस्मिरको पहलगाममा दुई साता अघि भएको आतंकवादी हमलापछि भारतले सुरक्षा कारवाही थालेको थियो । सीमामा भएका पछिल्ला आक्रमण र गोलाबारीका घटनाहरूले दुई देशबीच द्वन्द्व बढ्ने जोखिम बढाएको छ।