काठमाडौं । भारत र पाकिस्तानबीच बढेको तनावले विश्वलाई नै तरंगित बनाएको छ । तर यी दुई देशको इतिहाससँग परिचित केही कूटनीतिज्ञहरू भने यसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । भारत र पाकिस्तान आफ्नो सिर्जनाकालदेखि नै एक अर्काका शत्रु राष्ट्र भएकाले बेलाबेला तनाव सिर्जना हुनु कुनै नयाँ कुरा नभएको उनीहरूको भनाइ छ ।
तर बढेको द्वन्द्व कुन बिन्दुमा पुगेर शान्त हुन्छ वा विस्तृत युद्धको रूप लिन्छ भविष्यवाणी गर्न सकिन्न । विगतमा यी दुई देशले एक अर्काविरुद्ध तीन प्रमुख युद्ध लडेका छन् भने थुप्रै क्षेत्रीय द्वन्द्व भएका छन् । यसमध्ये बंगलादेशलाई पाकिस्तानबाट छुट्याउन सन् १९७१ मा भएको युद्धबाहेक अरू युद्ध, द्वन्द्व र सैन्य तनाव कश्मीरको विषयलाई लिएर नै भएका थिए ।
विगतमा बेलायतको उपनिवेश रहेको भारत आफ्नो स्वतन्त्रता सँगसँगै सन् १९४७ को अगस्टमा मुस्लिम बाहुल्य पाकिस्तान र हिन्दू बाहुल्य भारतमा विभाजित भएको हो । बेलायती संसद्ले पारित गरेको भारतीय स्वतन्त्रता कानुनको विभाजन योजनाले कश्मीर राज्यलाई पाकिस्तान वा भारत जुनसुकै देशमा गाभिन वा स्वतन्त्र रहन छुट दिएको थियो । भारत र पाकिस्तानको विभाजनअघि त्यहाँ ५८४ वटा प्रिन्सली स्टेट वा ससाना राज्य थिए ।
कश्मीरलाई स्वतन्त्र रूपमा राख्न चाहेका तत्कालीन महाराजा हरिसिंहले पाकिस्तानी मुस्लिम जातिको आक्रमणबाट जोगाउने सर्तमा सन् १९४७ को अक्टोबरमा भारतमा गाभिने निर्णय गरे । हरिसिंहको यो निर्णयसँगै भारत र पाकिस्तानबीच कश्मीरलाई लिएर पहिलो युद्ध भएको थियो । एक वर्षभन्दा बढी चलेको युद्ध संयुक्त राष्ट्रसंघको हस्तक्षेपपछि दुवैले कब्जा गरेका कश्मीरको भूभाग उनीहरूकै नियन्त्रणमा रहने गरी अन्त्य भयो । संयुक्त राष्ट्रसंघले जनमतसंग्रहमार्फत कश्मीरको भविष्य निर्धारण गर्ने प्रस्ताव अघि सारे पनि त्यसमा सहमति हुन सकेन ।
दुवै देशले राष्ट्रसंघले प्रस्ताव गरे बमोजिम १९४९ को जुलाईमा युद्धविराम रेखा "लाइन अफ कन्ट्रोल" स्थापना गर्ने गरी सन्धिमा हस्ताक्षर गरे र कश्मीर क्षेत्र विभाजित भयो । कश्मीरको आधाभन्दा बढी भाग भारतको भयो भने पाकिस्तानले करिब एकतिहाई भाग पायो । त्यसो त कश्मीरको करीब १५ प्रतिशत भूमि चीनको नियन्त्रणमा छ । यद्यपि भारत र पाकिस्तान दुवैले समग्र कश्मीरमाथि आफ्नो दाबी गर्दै आएका छन् ।
सन् १९४७ को युद्धपछि सन् १९६५ मा पनि यी दुई देशबीच फेरि कश्मीरकै विषयलाई लिएर युद्ध भयो । त्यसपछि १९९९ मा अर्को सीमित र क्षेत्रीय युद्ध भयो जुन कारगिल युद्धका नाममा प्रसिद्ध छ । त्यसपछि पनि दुवै देशबीच बेलाबेलामा कश्मीरकै मामिलालाई लिएर थुप्रै द्वन्द्व, सैन्य तनाव र झडप भएका छन् ।
त्यसो त भारत प्रशासित कश्मिरमा भारतीय शासनविरुद्ध सन् १९८९ देखि सशस्त्र विद्रोह सुरु भयो भने यसमा हजारौंले ज्यान गुमाएका छन् । भारतले कश्मीरका आतंककारीलाई पाकिस्तानले समर्थन गर्दै आएको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले त्यसलाई अस्वीकृत गर्दै आएको छ । यसैगरी भारतले कश्मीर र भारतका अन्य क्षेत्रमा आतंकवादी गतिविधि गर्दै आएका पाकिस्तान आधारित जैश ए मोहम्मद र लश्कर ए तैबा जस्ता समूहलाई पाकिस्तान सरकारले भरण पोषण गर्दै आएको आरोप लगाउने गरेको छ । पाकिस्तानले भने ती सबै आरोप अस्वीकार गर्दै आएको छ ।
एक दशक यताका घटनालाई हेर्दा सन् २०१६ मा कश्मीरको उरीमा भएको आक्रमणमा १९ जना भारतीय सैनिक मारिएका थिए । त्यस बेला भारतले चरमपन्थीहरूको तथाकथित शिविरलाई लक्षित गर्दै नियन्त्रण रेखापारि सर्जिकल स्ट्राइक गरेको थियो । त्यस्तै २०१९ मा "पुलवामा" मा ४० भन्दा बढी भारतीय अर्धसैनिकको ज्यान लिने गरी भएको बम विस्फोटको घटनापछि पनि भारतले पाकिस्तानभित्रै छिरेर बलालकोटमा हवाई आक्रमण गरेको थियो । ती दुवै सर्जिकल स्ट्राइकपछि केही समय स्थिति तनावपूर्ण बने पनि पछि सबै शान्त भएको थियो ।
करिब ६ वर्षको तुलनात्मक शान्तिपछि यही अप्रिल २२ मा २६ जनाको ज्यान लिने गरी कश्मीरको पहलगाममा आतंककारी आक्रमण भएपछि भारत–पाक तनाव फेरि उत्कर्षमा पुगेको हो ।
- एजेन्सीहरूको सहयोगमा