नक्कली खाता विवरण बनाएको मुद्दामा ट्रम्प दोषी, ४ वर्ष जेल सजाय हुन सक्ने

जेष्ठ १८, २०८१ |प्रभात सिंह
नक्कली खाता विवरण बनाएको मुद्दामा ट्रम्प दोषी, ४ वर्ष जेल सजाय हुन सक्ने

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डनल्ड ट्रम्प पोर्न स्टार स्टोर्मी डेनियललाई मौन रहन तिरेको रकम ढाकछोप गर्न नक्कली खाता विवरण तयार गरेको मुद्दामा दोषी ठहर हुनुभएको छ ।

कुनै पनि अपराधमा दोषी ठहर हुने उहाँ पहिलो पूर्वअमेरिकी राष्ट्रपति बन्नुभएको छ । ट्रम्पलाई सजाय भने जुलाई ११ मा हुने अदालतको अर्को सुनुवाइले तोक्नेछ । ट्रम्पलाई अधिकतम ४ वर्षको जेल सजाय वा जरिवाना हुन सक्नेछ । के थियो त ट्रम्पविरुद्धको मुद्दा, जसमा उहाँ दोषी ठहर हुनुभयो ?

सन् २०१८ मा वालस्ट्रिट जर्नलले २०१६ को राष्ट्रपतीय चुनावका बेला मौन रहन पोर्न स्टार स्टोर्मी डेनियललाई ट्रम्प अर्गनाइजेसनका कार्यकारी उपाध्यक्ष माइकल कोहेनले १ लाख ३० हजार डलर तिरेको समाचार प्रकाशित गरेपछि यो विषयले चर्चा पाएको थियो । ट्रम्प र डेनियलबीच सन् २००६ मा पेन्टहाउसमा यौनसम्बन्ध भएको र त्यसले ट्रम्पको चुनावी अभियानलाई असर नगरोस् भनेर मौन बस्नका लागि रकम दिएको बताइएको थियो ।

यौन सम्बन्ध कायम गरेपछि उक्त विषयमा मौन बस्न दिइने रकमलाई ‘हस मनी’ ट्रायल भनिन्छ । त्यसपछि डेनियलले पनि आफूसँगको गोप्य समझदारी सार्वजनिक गरिएको भन्दै २०१८ मार्च ६ मा ट्रम्पविरुद्ध मुद्दा दायर गर्नुभयो । यो विषयमा भएको सरकारी अनुसन्धानले कोहेनलाई दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनायो ।

अपराधमा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प, ३४ वटै आरोपमा दोषी ठहर

त्यसपछि न्युयोर्क महान्यायाधिवक्ता कार्यालयले यो घटनाको अनुसन्धानका लागि न्यायाधीशहरुको टोली गठन गर्‍यो । उक्त टोलीले २०२३ मार्चमा ट्रम्पविरुद्धको मुद्दा अगाडि बढाउन स्वीकृति दियो । सोही विषयमा भएको सुनुवाइपछि न्युयोर्कको अदालतले ट्रम्पलाई दोषी ठहर गरेको हो ।

ट्रम्पलाई सजाय भने जुलाई ११ मा हुने अर्को सुनुवाइले तोक्नेछ । ट्रम्पलाई अधिकतम ४ वर्षको जेल सजाय वा जरिवाना हुन सक्नेछ । अमेरिकी पूर्वराष्ट्रपतिलाई सरकारी सुरक्षा सुविधा पनि दिइने भएकाले उहाँलाई घरमै नजरबन्द गर्न सकिने पनि बताइएको छ । यदि उहाँलाई सजाय तोकिए पनि जेल बाहिर बसेर उच्च अदालतमा आफ्नो गिरफ्तारीविरुद्ध अपिल गर्न सक्ने सुविधा छ ।

दोषी ठहर भए पनि ट्रम्पले आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव भने लड्न पाउनुहुनेछ । अमेरिकी कानुनमा फौजदारी अपराधको रेकर्ड भएका व्यक्तिलाई उम्मेदवार हुनबाट रोक्ने कुनै व्यवस्था छैन् । ट्रम्प फ्लोरिडा राज्यका मतदाता हुनुहुन्छ । उक्त राज्यका कुनै पनि व्यक्ति दोषी ठहर भए तोकिएको सजाय पूरा गरेपछि मात्र मत हाल्न पाउने व्यवस्था छ ।

७७ वर्षीय ट्रम्पमाथि सन् २०२० को चुनावमा हेराफेरीसम्बन्धी र ह्वाइट हाउस छोड्दा सरकारी दस्ताबेज आफूसँगै लिएर गएको विषयमा संघीय र प्रान्तीय गरी तीनवटा मुद्दा अझै विचाराधीन छन् ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement