अपराधमा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प, ३४ वटै आरोपमा उनी दोषी ठहर

११ जुलाइमा सजाय सुनाइने
जेष्ठ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
अपराधमा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति बने ट्रम्प, ३४ वटै आरोपमा उनी दोषी ठहर

काठमाडौं । डनल्ड ट्रम्प कुनै पनि अपराधमा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् ।

पोर्न स्टार स्टोर्मी डेनियललाई मौन रहन तिरेको रकम ढाकछोप गर्न नक्कली खाता विवरण तयार गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् । ट्रम्पविरुद्ध लगाइएका सबै ३४ आरोपमा उनी दोषी ठहर भएका हुन् । 

न्युयोर्क अदालतको १२ सदस्यीय निर्णायक मण्डल-जुरीले सर्वसम्मतिले ट्रम्पलाई दोषी ठहर गरेको हो । पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध पोर्न स्टार स्टोर्मी डेनियललाई मौन बनाउन पैसा तिरेको, गलत कागजात पेस गरेको र चुनावी अभियानका क्रममा झूटो व्यापारिक रेकर्ड देखाएको आरोपमा मुद्दा चल्दै आएको थियो । 

समाचार एजेन्सी रोयटर्सका अनुसार अदालतले ६ हप्तामा २२ जना साक्षीहरूको सुनुवाइ गरेको थियो जसमा स्टोर्मी डेनियल पनि सामेल छिन् । दुई दिनसम्म छलफल गरेपछि १२ सदस्यीय निर्णायक मण्डलले ट्रम्पलाई दोषी ठहर गरेको फैसला सुनाएको हो । डोनाल्ड ट्रम्पलाई कस्तो सजाय दिने भन्ने कुरा जुलाई ११ मा हुने अर्को सुनुवाइले तोक्ने छ । 

ट्रम्पलाई अधिकतम ४ वर्षको जेल सजाय वा जरिवाना मात्र पनि हुन सक्ने जनाइएको छ । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा जो बाइडेनलाई हराएर ह्वाइट हाउस फर्कने अभियान चलाइरहेका बेला ट्रम्प विरुद्ध यस्तो फैसला आएको हो । 

अदालतबाट बाहिर निस्केर ट्रम्पले निर्णयलाई अपमानजनक भन्नु भएको छ । उहाँले नोभेम्बर ५ मा हुने राष्ट्रपतीय निर्वाचनबाट वास्तविक निर्णय आउने बताउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement