कार्गिल युद्धमा आफ्नो संलग्नता रहेको पाकिस्तानी सेनाको स्वीकारोक्ति

युद्धमा हजारौं सैनिकले देश र इस्लामका लागि बलिदान दिएको तर्क
भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कार्गिल युद्धमा आफ्नो संलग्नता रहेको पाकिस्तानी सेनाको स्वीकारोक्ति

काठमाडौं । पाकिस्तानी सेनाले पहिलो पटक सन् १९९९ को कार्गिल युद्धमा आफ्नो संलग्नता स्वीकार गरेको छ । रक्षा दिवसका अवसरमा रावलपिण्डीमा आयोजित कार्यक्रममा सेना प्रमुख जनरल असिम मुनिरले कार्गिलसहित विभिन्न समयमा भएका भारतसँगको युद्धमा हजारौं सैनिकहरुले देश र इस्लामका लागि बलिदान दिएको बताउनु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कार्गिल युद्धमा आफ्नो सेनाको संलग्नतालाई पाकिस्तानी सेनाले अहिलेसम्म औपचारिक रुपमा स्वीकार गरेको थिएन । पाकिस्तानी सेनाले उक्त युद्धमा काश्मिरी लडाकु संलग्न रहेको दाबी गर्दै आएको थियो । हिन्दुस्तान टाइम्सका अनुसार तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको दबाबमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले सेना फिर्ता गर्न आदेश दिएपछि युद्ध अन्त्य भएको थियो ।

यसअघि पाकिस्तानका पूर्व सेना प्रमुख परवेज मुसर्रफ तथा पूर्वप्रधानमन्त्री नवाज शरिफले कार्गिल युद्धमा पाकिस्तानी सेना संलग्न रहेको बताएका थिए । तर, बहालवाला सेना प्रमुखले उक्त युद्धमा संलग्नतालाई औपचारिक रुपमा स्वीकार गरेको पहिलो पटक हो । लद्धाखको कार्गिल जिल्लामा सन् १९९९ को मे बाट सुरु भएको युद्ध २ महिनासम्म चलेको थियो ।

सम्बोधनका क्रममा पाकिस्तानी सेना प्रमुख मुनिरले कश्मीर विवाद समाधानबाट नै दक्षिण एशियामा शान्ति स्थापना हुन सक्ने बताउनुभयो । १९६५ को युद्धमा मारिएका सैनिकको सम्झनामा आयोजित उक्त समारोहमा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले छिमेकसँग शान्तिपूर्ण सम्बन्ध चाहे पनि आफ्नो स्वतन्त्रता, सम्मान र हितमा कसैसँग सम्झौता नगर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement