युक्रेनलाई लामो दुरीका हतियार दिन अमेरिकाद्वारा अस्वीकार

मिसाइल र लडाकु विमान युक्रेन युद्धको दिशा बदल्न सफल नहुने दाबी
अन्य हतियारको सहयोग भने जारी
भाद्र २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
युक्रेनलाई लामो दुरीका हतियार दिन अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । अमेरिकाले लामो दुरीका हतियारका लागि युक्रेनको मागलाई अस्वीकार गरेको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले लामो दुरीसम्म प्रहार गर्नसक्ने क्षमताका मिसाइल र लडाकु विमानले युक्रेन युद्धको दिशा बदल्न सफल नहुने बताउनुभएको हो । यस्ता हतियार युक्रेनलाई दिएर कुनै फाइदा नहुने उहाँको भनाइ छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि आक्रमण गर्न लामो दूरीका हतियारको माग गर्नुभएको थियो । तर जवाफमा अमेरिकी रक्षा मन्त्री अस्टिनले त्यस्ता हतियार आवश्यक नदेखिएको प्रतिक्रिया दिनुभएको हो । जर्मनीको रामस्टेन एयरबेसमा अमेरिकाले गरेको युक्रेनका सहयोगीहरूको बैठकपछि अमेरिकी रक्षामन्त्रीले लामो दूरीको हतियारको मागलाई खारेज गरेको जानकारी दिनुभएको बताइएको छ ।

तर, अमेरिकाले युक्रेनलाई २५ करोड डलरको नयाँ हतियार दिने घोषणा गरेको छ । यसैबीच जर्मनीले युक्रेनलाई थप १२ स्व–चालित हतियार दिने बताएको छ । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै जर्मनीका रक्षा मन्त्री बोरिस पिस्टोरियसले युक्रेनलाई दिने भनिएको हतियार देशको सैन्य सूचीबाट नभएर उद्योगबाट निर्माण गरि दिइने बताउनुभएको छ । जर्मनीले समेत रुसमाथि लामो दूरीको हमला गर्न युक्रेनले पश्चिमी हतियारहरूको प्रयोगको अनुरोधलाई विरोध गरेको छ ।

केही दिन अघि युक्रेनले रुसको क्रुस्क क्षेत्रमा हमाल गरेपछि रुसले निरन्तर युक्रेनी सहर लक्षित आक्रमण गरिरहेको छ । जसमा अत्यधिक क्षति भएको थियो । रुसको आक्रमणलाई रोक्न र रुसमाथि दबाब सिर्जना गर्न युक्रेनले पश्चिमी राष्ट्रहरुसँग लामो दुरीको हतियार दिन माग गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement