लोकसभा चुनाव : कहाँबाट चुनाव लड्दै छन् यी चर्चित अनुहार ?

वैशाख ६, २०८१ |प्रभात सिंह
लोकसभा चुनाव : कहाँबाट चुनाव लड्दै छन् यी चर्चित अनुहार ?

काठमाडौं । भारतमा लोकसभा चुनावअन्तर्गत भोलि (शुक्रबार) पहिलो चरणको मतदान हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारीसमेत भइसकेको छ । लोकसभाका ५४३ सदस्य चयनका लागि हुने मतदान सात चरणमा सम्पन्न हुनेछ र जुन ४ मा मतगणना गरिनेछ ।

पहिलो चरणमा २१ राज्य तथा केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान हुनेछ । पहिलो चरणअन्तर्गत अन्डमान एन्ड निकोबार, अरुणाचल, असम, बिहार, छत्तीसगढ, जम्मुकश्मीर, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, पोन्डीचेरी, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेश र पश्चिम बंगालमा मतदान हुनेछ ।

यसपटक राजनीतिदेखि खेलकुद, मनोरञ्जनसम्मका क्षेत्रका चर्चित व्यक्तिहरु चुनावमा होमिएका छन् ।

कंगना रनावत

तीन दर्जनभन्दा बढी हिन्दी सिनेमामा काम गरिसकेकी अभिनेत्री कंगना रनावत यसपटक भाजपाका तर्फबाट हिमाचल प्रदेशको मन्डी लोकसभा निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छिन् । हिमाचल प्रदेशको भाम्भियामा जन्मिएकी उनको उम्मेद्‌वारीले फ्यानहरु निकै उत्सुक देखिएका छन् ।

यसअघि यस क्षेत्रबाट कांग्रेस सांसद प्रतिभा सिंह विजयी भएकी थिइन् । यसपटक कंगनाको प्रतिस्पर्धी उनै प्रतिभा सिंहका छोरा विक्रमादित्य सिंह कांग्रेसबाट उम्मेदवार छन् । विक्रमादित्य सिंहको त्यस क्षेत्रमा पकड रहेको कारण उक्त चुनावमा दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

राहुल गान्धी

कांग्रेस नेता राहुल गान्धी भने पार्टीको गढ मानिएको केरलाको वायनाड क्षेत्रबाट उठेका छन् । भारतीय जनता पार्टी (भाजपा) ले उक्त क्षेत्रमा केरलाका भाजपा अध्यक्ष के. सुरेन्द्रनलाई अघि सारेको छ । सुरेन्द्रन त्यस क्षेत्रमा प्रभावशाली नेता मानिन्छन् । तर, सो क्षेत्रमा कांग्रेस आईको प्रभाव निकै मजबुत छ । यस्तो अवस्थामा वायानाडको चुनाव निकै रोमाञ्चक हुने जनाइएको छ । सन् २०१९ को लोकसभा चुनावमा अमेठी निर्वाचन क्षेत्रमा ठूलो अन्तरले भाजपाकी नेत्री स्मृती इरानीबाट पराजित भएपछि यसपटक उनी वायनाड पुगेका हुन् ।

बाँसुरी स्वराज

पूर्वकेन्द्रीय मन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजले भाजपाका तर्फबाट नयाँदिल्लीमा चुनाव लड्ने भएकी छिन् । उनी पेसाले वकिल हुन् । त्यस क्षेत्रबाट उनको प्रतिस्पर्धा आमआदमी पार्टीकी सोमनाथ भारतीसँग हुनेछ । भारती अहिले त्यस क्षेत्रका सांसद पनि हुन् ।

शशि थरुर

कांग्रेस नेता शशि थरुरले यसपटक दक्षिण भारतको केरलाको तिरुवन्तपुरम क्षेत्रबाट टिकट पाएका छन् । उक्त क्षेत्रमा एनडीएका तर्फबाट भाजपाका नेता राजीव चन्द्रशेखर उम्मेद्‌वार छन् । भाजपाले त्यस क्षेत्रमा पकड जमाउन प्रयास गरिरहे पनि कांग्रेसको पकड राम्रो छ ।

हेमा मालिनी

हिन्दी सिनेमामा ड्रिम गर्ल भनेर चर्चित अभिनेत्री हेमा मालिनीले भारतीय जनता पार्टीका तर्फबाट मथुरा निर्वाचन क्षेत्रबाट तेस्रोपटक चुनाव लड्दै छिन् । उनलाई त्यस क्षेत्रमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पूर्ण समर्थन गरेका छन् । उक्त क्षेत्रबाट कांग्रेसले अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी विजेन्द्र सिंहको नाम तय गरेको थियो । तर, उनी भापजा प्रवेश गरेसँगै कांग्रेसले पार्टीका प्रदेश महासचिव मुकेश धनगरमाथि आफ्नो दाउ लगाएको छ ।

अरुण गोभिल

रामायणमा रामको भूमिका निर्वाह ख्याति कमाएका अरुण गोभिल भाजपाका तर्फबाट मेरठमा उम्मेदवार छन् । उनलाई टक्कर दिन इन्डिया गठबन्धनबाट समाजवादी पार्टीका ४१ वर्षीय अतुल प्रधान मैदानमा छन् । अतुल प्रधान समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव निकट मानिन्छन् । टेलिभिजन स्क्रिनमा जनताले पत्याएका रामायणका रामलाई चुनावी मैदानमा जनताले पत्याउँछन् कि पत्याउँदैनन्, हेर्न बाँकी छ ।

कन्हैया कुमार

भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको प्रत्यक्ष संलग्नतामा उत्तरपूर्वी दिल्लीबाट कन्हैया कुमारलाई लोकसभा चुनावको टिकट दिइएको छ । उनको प्रतिस्पर्धी भाजपाका नेता एवं कलाकार मनोज तिवारी छन् ।

युसुफ पठान

भारतीय क्रिकेट टोलीका पूर्वक्रिकेटर युसुफ पठानले राजनीतिको नयाँ पारी सुरु गर्दैछन् । तृणमूल कांग्रेस पार्टीले उनलाई पश्चिम बंगालको बहरामपुर निर्वाचन क्षेत्रमा टिकट दिएको छ । उनले बहरामपुरका वर्तमान सांसद कांग्रेसका अधीररञ्जन चौधरीको सामना गर्नेछन्।

रवि किशन

भोजपुरी सिनेमाका अभिनेता रवि किशन उत्तर प्रदेशको गोरखपुर निर्वाचन क्षेत्रमा भाजपाबाट उम्मेद्‌वार छन् । उक्त क्षेत्रबाट समाजवादी पार्टीले अभिनेत्री काजल निशादलाई टिकट दिएको छ । रविको पकड भए पनि यसपटक सो क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ ।

मेनका गान्धी

कांग्रेसका दिवंगत नेता सञ्जय गान्धीकी श्रीमती मेनका गान्धी उत्तर प्रदेशको सुल्तानपुर निर्वाचन क्षेत्रबाट पुनः भाजपाको उम्मेद्‌वार बनेकी छिन् । उनको प्रत्याशी इन्डिया गठबन्धनका तर्फबाट समाजवादी पार्टीका नेता भीम निशाद छन् । मेनका गान्धी लोकसभाकी सदस्य पनि हुन् । उनका छोरा वरुण गान्धीले पिलिभित निर्वाचन क्षेत्रबाट टिकट पाउने आश गरेका थिए । तर, उनको टिकट भाजपाले खोसेसँगै नयाँ तरंग पैदा भएको छ ।

यो पनि...

भारतको लोकसभा चुनाव : देलान् त राहुलले मोदीलाई टक्कर ?

भारतको लोकसभा निर्वाचन : तयारी अन्तिम चरणमा, पहिलो चरणमा २१ राज्यमा मतदान हुने


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement