दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तिहाड जेल पुर्‍याइयो

थप १५ दिन न्यायिक हिरासतमा राख्न अदालतको आदेश
चैत्र १९, २०८० |अन्तर्राष्ट्रिय ब्युरो
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई तिहाड जेल पुर्‍याइयो

काठमाडौं । मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई आज ईडीको हिरासतबाट तिहाड जेलमा सारिएको छ । जिल्ला अदालतले थप १५ दिन न्यायिक हिरासतमा राख्न आदेश दिएपछि उनलाई तिहाड जेल पुर्याइएको हो ।

गत मार्च २१ मा पक्राउ परेयता उनी प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहँदै आएका थिए । दिल्लीको राउज एभेन्यु डिस्ट्रिक्ट कोर्टले आजै केजरीवाललाई अप्रिल १५ सम्म हिरासतमा राख्न आदेश दिएको हो । यसअघि ईडीले दुईपटक हिरासतको म्याद थप गराइसकेको थियो ।

अदालतले न्यायिक हिरासतमा पठाउने आदेश सुनाएपछि केजरीवालले जेलमा अध्ययनका लागि आफूलाई भगवद्‍गीता, रामायण र पत्रकार निरजा चौधरीद्वारा लिखित ‘हाउ प्राइम मिनिस्टर्स डिसाइड’ नामक पुस्तक उपलब्ध गराउन आग्रह गरेका थिए ।

गत मार्च २१ को राति ईडीले केजरीवाललाई उनकै निवासबाट पक्राउ गरेको थियो । दिल्लीको मदिरा नीति घोटाला प्रकरणमा करिब एक सय करोड भारतीय रुपैयाँ भ्रष्टाचार भएको आरोप उनलाई लगाइएको छ । लोकसभा चुनावको मुखैमा विपक्षी एनडीए गठबन्धनको एक प्रमुख घटक तथा आमआदमी पार्टीका राष्ट्रिय संयोजकसमेत रहेका केजरीवाललाई गिरफ्तार गरिनुलाई राजनीतिक हिसाबले अर्थपूर्ण मानिएको छ ।

भारतमा बहालवाला मुख्यमन्त्रीलाई गिरफ्तार गरिएको यो पहिलोपटक हो । केही समयअघि ईडीले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरेको थियो । तर, उनले गिरफ्तारीअघि नै पदबाट राजीनामा दिएका थिए । गिरफ्तारीमा परे पनि कानुनमा पदमुक्त हुने वा राजीनामा दिनै पर्ने बाध्यात्मक व्यवस्था नभएका कारण केजरीवालले जेलभित्रैबाट सरकार चलाइरहेका छन् । विपक्षी भाजपाले भने उनले मुख्यमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने माग गर्दै आएको छ ।