अरविन्द केजरीवाल थप १५ दिन हिरासतमा राखिने

चैत्र १९, २०८० |कान्तिपुर टीभी संवाददाता
अरविन्द केजरीवाल थप १५ दिन हिरासतमा राखिने

काठमाडौं । मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप १५ दिनसम्म हिरासतमै राखिने भएका छन् । उनलाई अप्रिल १५ सम्म हिरासतमा राख्न आदेश दिइएको छ । दिल्लीको राउज एभेन्यू कोर्टले सोमबार मुख्यमन्त्री अरविन्द केजरीवाललाई अप्रिल १५ सम्म हिरासतमा राख्न आदेश दिएको हो ।

२१ मार्च राति प्रवर्तन निर्देशनालयले केजरीवाललाई उनकै निवासबाट पक्राउ गरेको थियो । मदिरा घोटाला प्रकरणमा करिब एक सय करोड भन्दाबढी भारतीय रुपैयाँ बराबरको भ्रष्टाचार भएको आरोप उनीमाथि लगाइएको छ । 

भारतमा बहालवाला मुख्यमन्त्रीलाई गिरफ्तार गरिएको यो पहिलो पटक हो । केही समयअघि ईडीले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई पक्राउ गरेको थियो । तर, उनले गिरफ्तारी अघि नै पदबाट राजीनामा दिएका थिए । लोकसभा चुनावअघि दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्नुलाई भने राजनीतिक हिसाबले पनि अर्थपूर्ण मानिएको छ ।  उनले जेलभित्रबाटै सरकार चलाइरहेका छन् । विपक्षीले केजरीवाललाई तत्काल मुख्यमन्त्रीको पदबाट राजीनामा दिन माग गर्दै आएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.