पाकिस्तनमा मोबाइल र इन्टरनेट बन्द, चुनावलक्षित हिंसामा ५ जनाको मृत्यु

माघ २५, २०८०
पाकिस्तनमा मोबाइल र इन्टरनेट बन्द, चुनावलक्षित हिंसामा ५ जनाको मृत्यु

इस्लामबाद । हिंसाको त्रास र धाँधलीको आशंकाबीच पाकिस्तानमा आज आमनिर्वाचनअन्तर्गत मतदान भइरहेको छ ।

आज दिनभरका लागि भन्दै मोबाइलमा कल र डाटा सेवा बन्द गरिएको छ । यद्यपि वाइफाई नेटवर्कले भने काम गरिरहेको देखिएको छ । मतदान जारी रहँदै गर्दा लडाकु समूहको आक्रमणमा पाँचजना मारिएको रोयटर्सले जनाएको छ ।

प्रहरी गस्तीलाई लक्षित गर्दै उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा स्माइल खान जिल्लामा भएको बम तथा बन्दुक आक्रमणमा ४ प्रहरी मारिएको जनाइएको छ । यस्तै सुरक्षा फौजको कारबाहीमा अन्य एकजना मारिएको जनाइएको छ । बलुचिस्तान प्रान्तका विभिन्न क्षेत्रमा पनि ग्रिनेड आक्रमणका घटना भएको तर केही हताहती नभएकाले मतदान अवरुद्ध नभएको जनाइएको छ ।

कानुन र सुव्यवस्था कायम राख्न भन्दै छिमेकी देशहरु इरान र अफगानिस्तानसँगको स्थलगत सीमा अस्थायी रुपमा बन्द गरिएको छ । हिजो बलुचिस्तान प्रान्तमा संसदीय उम्मेदवारका कार्यालयनजिकै भएका दुई बेग्ला-बेग्लै विस्फोटमा कम्तिमा २६ जना मारिएको घटनापछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको आन्तरिक व्यवस्था मन्त्रालयले जनाएको छ । हिजो भएका दुवै विस्फोटको चरमपन्थी इस्लामिक समूह आईएसले जिम्मेवारी लिएको छ ।

सुरक्षा चिन्ता र अत्यधिक चिसोका बाबजुद पनि मतदान केन्द्रमा बिहानैदेखि लामो लाइन देखिएको रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

हिंसात्मक गतिविधि, चरम आर्थिक संकट र तीव्र राजनीतिक ध्रुवीकरणका बीच भइरहेको यस निर्वाचनबाट कुनै दल प्रस्ट विजेताका रुपमा देखा नपर्ने थुप्रै विश्लेषकहरुको आंशका व्यक्त गरेका छन् ।

मोबाइल फोन सेवा बन्द गर्ने सरकारको निर्णयको विपक्षी दलका नेताहरुले आलोचना गरेका छन् । पाकिस्तान पिपुल्स पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका ३५ वर्षीय छोरा बिलावल भुट्टो जर्दारीले मोबाइल सेवा तत्काल सञ्चालनको माग गरेका छन् ।