पाकिस्तानमा आज आमनिर्वाचन

माघ २५, २०८० |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा आज आमनिर्वाचन

काठमाडौं । पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ ।

पाकिस्तानमा ३ सय ३६ सदस्यीय नेसनल एसेम्बलीमा २ सय ६६ जना प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । निर्वाचनमा दल र स्वतन्त्रका गरी ५ हजार १ सय २१ उम्मेदवार मैदानमा छन् । ६० सिट महिला र १० सिट गैरमुस्लिमका लागि आरक्षित छ । आरक्षित सिटको निर्वाचन भने समानुपातिक निर्वाचन प्रणालीबाट हुने गर्दछ ।

देशका चार वटै प्रान्तमा गरी ९० हजार ६ सय ७५ मतदान केन्द्र स्थापना गरिएको छ । २४ करोड १० लाख जनसंख्या रहेको पाकिस्तानमा १२ करोड ८० लाख मतदाता छन् ।

निर्वाचनको सुरक्षाका लागि ५ लाख ११ हजार प्रहरी, १ लाख ३७ हजार सैनिक र अर्धसैनिक बलका सुरक्षाकर्मी परिचालन गरिएको छ । मतदानस्थलको सुरक्षाका लागि सीसीटीभीसमेत जडान गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

तर, निर्वाचनको एक दिनअघि बुधबार दक्षिणपश्चिमी प्रान्त बलोचिस्तानमा भएका दुई बेग्लाबेग्लै विस्फोटमा २८ जना मारिएपछि सुरक्षा चुनौती थपिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.