इजरायलमा १० नेपालीसँगै अरु कुन देशका नागरिक मारिए ? (सूचीसहित)

आश्विन २४, २०८०
इजरायलमा १० नेपालीसँगै अरु कुन देशका नागरिक मारिए ? (सूचीसहित)

जेरुसेलम । प्यालेस्टिनी चरमपन्थी समूह हमासको आक्रमणमा १० नेपालीसँगै थुप्रै विदेशी नागरिक पनि मारिएका छन् ।

इजरायली भूमिमा छिरेका हमास लडाकुले केही विदेशी नागरिकलाई बन्धक बनाएर पनि लगेका छन् । यस्तै केही विदेशी नागरिक बेपत्ता छन् ।

विभिन्न अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएअनुसार हमासले गरेको आक्रमणमा १० नेपाली, १८ थाई, ११ अमेरिकी, ८ फ्रान्सेली, सात अर्जेन्टिनी, चार रुसी र तीन चिलीका नागरिक मारिएका छन् । यसैगरी युक्रेन र पेरुका दुई-दुई जनाको मृत्यु भएको छ । यस्तै दुई बेलायती मारिएको पुष्टि भइसकेको छ भने अन्य नौजनाको अवस्था अज्ञात छ । यस्तै, क्यानडा, कम्बोडिया, ब्राजिल र अस्ट्रेलियाका एक-एक जनाको मृत्यु भएको बताइएको छ ।

हमासले जर्मनी मूलका थुप्रै इजरायली नागरिकलाई बन्धक बनाएर लगेको जनाइएको छ । त्यस्तै ११ थाई कामदारलाई पनि अपहरण गरेर लगेको बताइएको छ भने मेक्सिको र कोलम्बियाका दुई-दुई जनालाई हमास लडाकुले बन्धक बनाएको समाचारमा उल्लेख छ ।

हमासको आक्रमणमा परेका फिलिपिन्सका पाँचजना हराइरहेका छन् । यसैगरी पेरुका तीन, चिलीका एक, अस्ट्रियाका एक, ब्राजिलका तीन, इटलीका दुई, पाराग्वेका दुई, श्रीलंकाका दुई, तान्जानियाका दुई, आयरल्यान्डका एकजना बेपत्ता भएको बताइएको छ ।

इजरायल र हमासबीचको युद्ध पाँचौँ दिन पनि जारी, अमेरिकाले सैन्य सहायता पठायो


Enter Kantipur TV HD
Advertisement