इजरायल र हमासबीचको युद्ध पाँचौँ दिन पनि जारी, अमेरिकाले सैन्य सहायता पठायो

आश्विन २४, २०८० |कान्तिपुर टीभी संवाददाता
इजरायल र हमासबीचको युद्ध पाँचौँ दिन पनि जारी, अमेरिकाले सैन्य सहायता पठायो

तेल अभिभ । इजरायल र प्यालेस्टिनी चरमपन्थी समूह हमासबीचको युद्ध पाँचौँ दिन पनि जारी छ ।

इजरायली सेनाले गाजामाथि हवाई आक्रमण रातभरी जारी राखेको छ भने गाजातर्फबाट रकेट प्रहार गरिने क्रम पनि यथावत् रहेको जनाइएको छ ।

इजरायलको दक्षिणी सहर एस्कलोनमा हमासका थप लडाकु सीमापारिबाट छिरेको खबर आएसँगै सुरक्षा सतर्कता उच्च पारिएको छ । सरकारले सो सहरका बासिन्दालाई बंकर र सुरक्षित कोठामा बस्न आग्रह गरेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि हमासले गरेको आक्रमणलाई चरम दुष्ट्याईंको संज्ञा दिएका छन् । अमेरिकी सैन्य सहायता उपकरण बोकेको पहिलो विमान दक्षिणी इजरायलको नेभाटिम हवाई अखाडामा आइपुगेको छ । अमेरिकी नौसैनिक युद्धपोत जेराल्ड फोर्ड पनि इजरायल नजिकै पूर्वी भूमध्य सागरमा पुगिसकेको जनाइएको छ ।

इजरायलमा हमासको आक्रमणबाट मर्नेको संख्या एक हजार पुगेको छ । गाजामा पनि नौ सयभन्दा बढी मारिएका छन् । उता इजरायल र लेबनानबीचको सीमामा पनि गोली हानाहान भएको जनाइएको छ । सिरियातर्फबाट पनि गोलाबारुद फालिएको जनाइएको छ ।

दक्षिण कोरियाले इजरायलमा रहेका आफ्ना नागरिकमध्ये करिब दुई सयलाई उद्धार गरेको छ । दुई सय कोरियाली बोकेको विमान बुधबार तेलअभिभबाट इन्चियोन विमानस्थलमा आइपुगेको रोयटर्सले जनाएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.